देश/प्रदेश
पोखरामा सुकुम्बासीको आन्दोलनः “डोजर आतंक बन्द गर” ,

पोखरा, वैशाख २१-
काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू त्रसित बनेका छन्। “डोजर आतंक बन्द गर” भन्ने नारासहित उनीहरूले आज पोखराका सडकमा प्रदर्शन गरेका छन्।
पोखरा महानगरपालिका ले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। महानगरको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार वैशाख ४ गते सूचना जारी गरिएको हो।
महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्थाबिना स्थान खाली नगर्ने अडान लिएका छन्। उनीहरूले उचित व्यवस्थापनपछि मात्रै डोजर चलाउन माग गरेका छन्।
आफ्ना माग सम्बोधनका लागि सुकुम्बासीहरूले आज वैशाख २१ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। त्यसअघि उनीहरूले पृथ्वीचोक मा र्यालीसहित कोणसभा गरेका थिए।
तस्बिरः अर्जुन गाहा र नेपाल फोटो लाइब्रेरी




































