राजनीति
सेना प्रयोग गरेर सरकारले राज्य आतंक फैलायोः हर्कराज राई

काठमाडौं,बैशाख १५-
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले नेपाली सेनाको प्रयोग गरेर राज्य आतंक र दादागिरी सुरु गरेको आरोप लगाएका छन् । विभिन्न पालिकामा सुकुम्बासीको लगत सङ्कलन गर्न सेना खटिएको समाचार सार्वजनिक भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै राईले सरकारलाई त्यस्ता कार्य तत्काल रोक्न चेतावनी दिएका छन् ।
‘नेपाली सेना किन र केका लागि प्रयोग गर्ने भन्नेबारे बुझ्नुपर्छ,’ उनले भनेका छन्, ‘कहिले नेताको ढोका खोल्न प्रयोग भएको देखिन्छ । कहिले चुनावको मतपेटिका ओसार्न प्रयोग भएको देखिन्छ । अब हुँदाहुँदा सुकुम्बासीको लगत संलकन गर्न सेनाको प्रयोग भन्ने समाचार आयो । छक्क पर्नु छ ।’
राईले सेनाको प्रयोग सीमा रक्षाका लागि मात्रै गर्नुपर्ने धारणासमेत राखेका छन् । ‘चारै दिशाको सिमाना रक्षाका लागि सिमानामा सेना तैनाथ गरिनुपर्छ । जतिबेला पनि गरिनु हुँदैन । यो राम्रो काम भएन’, उनले भिडियो सन्देशमार्फत भनेका छन् ।
सैनिक शासन हो कि भन्ने छनक दिने काम गर्न नहुने तर्क राईले गरेका छन् । ‘यी विषयहरू सदनमा उठ्नेछन्,’ उनले थप भनेका छन्, ‘सदनको अधिवेशन बोलाएर बजेट बनाएर सुशासन कायम गर्नुपर्नेमा महिला केटाकेटीलाई पेलेर अघि बढ्नुहुँदैन ।’
























