देश/प्रदेश
सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाही, वैशाख १३
सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको हुनुकासाथै एक जना मानिस घाईते भएका छन् ।
शनिबार राति करिब ११ः३० बजे परेको चट्याङले लागेर स्थानिय ६० वर्षीय सिताराम यादव घाइते भएका हुन् । उनको टाउकोसहित शरीरका विभिन्न भागमा जलेको प्रहरीले जनाएको छ । घाइते यादवलाई तत्काल उपचारका लागि रौतहटस्थित तराई अस्पतालमा लगिएको छ । उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे आइतबार बिहान करिब ३ बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । चट्याङ परेपछि आगलागी भई यादवको घर गोठमा रहेको पशु चौपाया, अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङकै कारण ९ वटा बाख्रा र ५ वटा भैँसी जलेर मरेका छन् भने एक वटा पाडा घाइते भएको छ । त्यसै गरी, घरमा राखिएको करिब १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मुसुरोको दाल, भाडा बर्तन तथा लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । न्यूज बैंक
























