राजनीति
कांग्रेसले भन्यो ‘सुकुम्वासी समस्याको समाधान विधिको शासनअनुसार खोजिनुपर्छ’

काठमाडौं, वैशाख ११-
नेपाली कांग्रेसले सुकुम्वासी समस्या राष्ट्रको साझा समस्या रहेकाले विधिको शासनको पूर्ण पालना गर्दै समाधान खोजिनुपर्ने जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले अदालतबाट भएका आदेशहरू तथा विगतका संसदीय समितिहरूका निर्णयहरूलाई मार्गदर्शक मान्दै सरकार अघि बढ्नुपर्ने जनाएको छ ।
बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गर्नु आवश्यक रहेको प्रवक्ता देवराज चालिसेले बताए ।
वास्तविक सुकुम्वासी को हुन् र को होइनन् भन्ने स्पष्ट पहिचान सुनिश्चित गरिनुपर्ने, वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु नीतिगत दायित्व मात्र नभई उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य रहेको कांग्रेसले जनाएको छ ।
संवेदनशीलता, कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ यस समस्याको दिगो समाधानतर्फ अग्रसर हुन सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।
























