खेलकुद
युएईविरुद्ध नेपालको कमजोर सुरुवात, पावरप्लेमा तीन विकेट गुमाउँदा मात्र ४० रन

काठमाडौं, वैशाख ७-
युएईविरुद्धको पहिलो टी(२० अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पावरप्लेमा तीन महत्त्वपूर्ण विकेट गुमाउँदै फितलो सुरुवात गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सुरुवाती ६ ओभरमा ३ विकेटको क्षतिमा ४० रन मात्र जोडेको छ।
नेपालले २ दशमलव ३ ओभरमा २१ रन हुँदा पहिलो विकेटका रूपमा विकेटकिपर अर्जुन साउदलाई गुमाएको थियो। ११ बल खेलेका साउदले ३ चौकाको मद्दतमा १३ रन जोड्दै जुनेद सिद्दिकीको बलमा बोल्ड भए। लगत्तै ३ दशमलव ४ ओभरमा सन्दीप जोरा ६ रन बनाएर हैदर अलीको शिकार बनेपछि नेपाल दबाबमा परेको थियो।
सेट भइसकेका ओपनर कुशल भुर्तेल ५।२ ओभरमा रन आउट भएपछि नेपालले तेस्रो झड्का व्यहोरेको हो। भुर्तेलले ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रनको योगदान दिए। अहिले क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल रहेका छन्। युएईका लागि जुनेद सिद्दिकी र हैदर अलीले १ १ विकेट लिएका छन्।
























