अन्तर्राष्ट्रिय

अमेरिकामा एक व्यक्तिले आफ्ना सात छोराछोरीसहित आठ बालबालिकाको गरे हत्या

Banner

काठमाडौं,बैशाख ७-

अमेरिकाको लुइसियाना राज्यको श्रेभपोर्ट सहरमा एक व्यक्तिले आठ बालबालिकाको हत्या गरेका छन् । गोली हानी हत्या गरिएका मध्ये सातजना उनकै छोराछोरी थिए । यसलाई अमेरिकामा यो वर्षको सबैभन्दा ठूलो सामूहिक गोलीकाण्डको घटनामध्ये एक मानिएको छ ।

यो घटना आइतबार बिहान स्थानीय समयानुसार ६ बजे वेस्ट ७९औँ स्ट्रिटको ३०० ब्लकमा भएको हो । आरोपितको नाम ३१ वर्षीय शमार एल्किन्स रहेको सीएनएनले जनाएको छ ।

सात बालबालिकालाई घरभित्र गोली हानिएको थियो । एक बालकलाई भने ज्यान जोगाउन भाग्ने क्रममा छतमा पुग्दा गोली लागेको थियो । आक्रमणमा असल्ट–स्टाइल हतियार प्रयोग गरिएको थियो । यो घरेलु विवादसँग जोडिएको मामिला भएको जनाइएको छ ।

मृतक बालबालिकामा जायला एल्किन्स (तीन वर्ष), शायला एल्किन्स (पाँच वर्ष), कायला प्यु (६ वर्ष), लैला प्यु (सात वर्ष), मरकेडोन प्यु (१० वर्ष), सारिया स्नो (११ वर्ष), खेडारियन स्नो (६ वर्ष) र ब्रेलोन स्नो (पाँच वर्ष) छन् ।

यो आक्रमणमा १३ वर्षीय एक बालक घाइते भएका छन् । उनी ज्यान बचाउन घरबाट भागेका थिए । र, छतबाट हाम फालेका थिए । मारिएका बालबालिकामा तीन बालक र पाँच बालिका छन् । उनीहरूमध्ये सातजना सहोदर दाजुभाइ–दिदीबहिनीका सन्तान हुन् एकजना उनीहरूका आफन्तको छोरा रहेको प्रहरीले जनाएको छ ।

आरोपितले बालबालिकाबाहेक दुई महिलामाथि पनि गोली प्रहार गरेका थिए । उनले सबैभन्दा पहिले आफ्नी श्रीमतीलाई गोली हानेका थिए । ती महिलाको अवस्था गम्भीर छ । त्यसपछि उनी अर्को घरमा गएर आठ बालबालिका र अर्की एक महिलामाथि गोली चलाएका थिए । ती महिलाको अवस्था पनि गम्भीर छ । गोली लागेर उनका छोराको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>