देश/प्रदेश

लेकसाइडमा ‘क्लिन अपरेसन’: पर्यटक ठगीमा संलग्न १६ महिला नियन्त्रणमा

Banner

पोखरा, वैशाख ७-

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा बढ्दो अनैतिक क्रियाकलाप, ठगी र पर्यटकमाथि हुने हैरानी नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले आइतबार राति करिब साढे १२ बजेदेखि २ बजेसम्म गरेको कारबाहीमा १६ जना महिलालाई नियन्त्रणमा लिएको हो।

लामो समयदेखि पर्यटकलाई प्रलोभनमा पारेर रकम असुल्ने तथा दुःख दिने गतिविधि बढेपछि प्रहरीले छापा मारेको जनाएको छ। प्रहरीका अनुसार केही व्यक्तिहरूले पर्यटकसँग नजिकिएर विभिन्न बहाना बनाउँदै पैसा असुल्ने र मौका मिल्नासाथ ठगी गर्ने गरेका थिए। कतिपयले सम्बन्धको बहाना बनाएर रकम लिने र पछि डर देखाउँदै फरार हुने शैली अपनाउने गरेको पाइएको छ।

प्रहरीले नियन्त्रणमा लिएका मध्ये १८ वर्ष मुनिका किशोरीहरूलाई सुधारका लागि पुनर्स्थापना केन्द्र पठाइएको छ भने अन्यविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको छ। केहीलाई भने अभिभावकको जिम्मामा छोडिने बताइएको छ।  पर्यटकीय राजधानी पोखराको छविमा दाग लाग्ने गरी भइरहेका यस्ता विकृति रोक्न प्रहरीले अहिले ‘क्लिन लेकसाइड’ अभियान नै सुरु गरेको छ। वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज डीएसपी नमराज भट्टराई कमाण्ड सम्हालेपछि लेकसाइडमा हुने गुण्डागर्दी र डान्स बारहरूमा बाउन्सरहरूको दादागिरीविरुद्ध पनि कडा कदम चालिएको छ।

पर्यटकीय सहर पोखराको छविमा असर पर्ने यस्ता गतिविधि रोक्न ‘क्लिन लेकसाइड’ अभियान सुरु गरिएको प्रहरीले जनाएको छ। लेकसाइड क्षेत्रमा शान्ति सुरक्षामा असर पुर्‍याउने तथा अवैध क्रियाकलापमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने प्रहरीको चेतावनी छ।

प्रहरीले लेकसाइडलाई सुरक्षित र मर्यादित बनाउन स्थानीय बासिन्दासँग पनि सहयोगको अपिल गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>