देश/प्रदेश

सेताम्मे हिउँले ढाकेको हिन्दु र बौद्ध धर्मावलम्बीको आस्था र विश्वासको केन्द्र भैरवकुण्ड

Banner

काठमाडौँ, वैशाख ५-

भोटेकोशी गाउँपालिका शिरभेगमा अवस्थित ‘भैरवकुण्ड’ मा विशेषगरी धार्मिक आस्था, विश्वास र पर्यटकीय दृष्टिकोणले प्रख्यात गरेको छ ।

भैरवकुण्ड हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका कुण्डको रूपमा रहेको छ । विशेषत शेर्पा समुदायले भैरवकुण्डलाई ‘आमा छयूमेन’का रूपमा पूजा गर्छन् ।

समुन्द्री सतहबाट ४ हजार १२४ मिटर उचाइमा रहेको भैरवकुण्ड समुन्द्री सतहबाट ६ हजार ५६७ मिटर उचाइमा रहेको ‘फुर्वी घ्याचु भञ्ज्याङग’को फेदीमा भैरवकुण्ड अवस्थित छ । विशाल र मनमोहक ताल भैरवकुण्ड ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ ।

भैरवकुण्ड तालभन्दा केही तलको क्षेत्रमा नेपालकै दोस्रो अग्लो ‘भैरवकुण्ड छहरा’ छ । यो छहरा १९८ मिटर अग्लो छ । भैरवकुण्ड ताल र भैरवकुण्ड छहराको प्राकृतिक सुन्दरताले जो जुकै लट्ठ पर्छन् । यहाँ नै ‘सम्मुख जुगल हिमशृङ्खला पनि पर्दछ । उक्त हिमशृङ्खलाले झनै पर्यटक मोहित गर्ने गर्दछन् । प्राकृतिक रूपमा अलौकिक मानिने भैरवकुण्डमा पुग्न निकै कठिनाइ भोग्नु पर्दछ तर त्यहाँ पुग्न खेपिरहेको पीडालाई त्यहाँको प्राकृतिक रसास्वादनले भुलाइदिने भएपछि भैरव कुण्डमा पुग्ने पर्यटक र धर्मावलम्बीको बाक्लो उपस्थित हुने गर्दछ ।

अरनिको लोकमार्ग भोटेकोशी गापास्थित लार्चाबाट भैरवकुण्ड जानका लागि ठाडो र अप्ठ्यारो, उकालो भीरको बाटो जानु पर्ने छ । करिब दुई दिन पैदल यात्राका माध्यमबाट सो ताल पुग्न सकिन्छ । बिच बाटोमा स्थानीय घर र होम–स्टेमा बास बस्न र अर्गानिक खानाको स्वाद लिन सकिन्छ । पैदल यात्रामा शेर्पा समुदायको सांस्कृतिक रीतिरिवाज, भेषभूषा, रहनसहन लगायतका परम्परा प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । अरनिको राजमार्गको डाक्लाङ, काक्लाङ, लिस्तिमाई अर्थात् उग्रचण्डी भगवती, छगाम, बगाम र चोकर भीर हुँदैँ भैरवकुण्ड पुग्न सकिन्छ ।

भैरव कुण्डमा भगवान् शिव पार्वतीको वासस्थान रहेको किंवदन्ती छ । महादेवको अग्ररुप भैरव सम्हारकर्ताको रूपमा मानिन्छ । भगवान् शिवको क्रिडास्थलको रूपमा भैरवकुण्डलाई लिइन्छ । जनैपूर्णिमाका दिन हजारौँ भक्तजनको उपस्थितिमा भैरव कुण्डमा ठुलो मेला लाग्ने गर्दछ ।

‘जे माग्यो, त्यही पूरा हुने’–जनविश्वास साथ तीर्थालुहरू भैरवकुण्ड धाउने गर्छन्, त्यसकारण पनि भैरवकुण्डमा धार्मिक पर्यटकका साथसाथै युरोपियन मूलक, अमेरिका, जापान लगायत विभिन्न देशका पर्यटकहरु आउने गर्दछन् ।

विदेशी पर्यटकहरु भने भैरवकुण्ड र त्यसपासका दृश्य अवलोकन गर्न एक हप्तादेखि महिना दिनसम्म बस्ने गरेको पाइन्छ । खाना बस्नका लागि सा–साना होटल र स्थानीय घरमा बास बस्न पाइन्छ । अधिकांश पर्यटकहरूले बासको लागि टेण्ट र खानेकुरा बोकेरै लाने गरेको पाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>