राजनीति

अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्योः पूर्वराष्ट्रपति भण्डारी

Banner

काठमाडौं, वैशाख ०३-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा अनुभवहीन नयाँ पात्रहरूको उदयले देशको लोकतन्त्र, राष्ट्रिय एकता र सार्वभौमिकतामाथि गम्भीर प्रश्न खडा गरेको बताएकी छन्। ‘भूमिगत महिला’ नामक पुस्तकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाह प्रति लक्षित गर्दै चिन्ता व्यक्त गरेकी हुन्।

नयाँ र पुराना पात्रबीचको फरक औँल्याउँदै पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा अनुभवको महत्त्वलाई जोड दिइन्। ‘अहिले नयाँ पात्रहरूको उदय भएको छ, तर अनुभवी नयाँ पात्र आउनु र अनुभव नभएकाहरू आउनुमा धेरै फरक हुन्छ,’ उनले भनिन्, ‘अनुभव नभएका नयाँ पात्रहरूको आगमनले हाम्रो राष्ट्रिय परिस्थिति, एकता र स्वाभिमानमा ठुलो प्रश्न खडा गरेको छ।’ अनुभवविहीन पात्रहरूका कारण जनजीविका र नागरिकले लामो संघर्षबाट प्राप्त गरेका अधिकारहरू जोखिममा पर्न सक्ने उनको बुझाइ छ।

लोकतन्त्रको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘हामीले प्राप्त गरेको मौलिक हक, स्वतन्त्रता र लोकतन्त्रको भविष्य के हुने भन्ने प्रश्न अहिले टड्कारो बनेको छ।’ यस्तो असहज परिस्थितिमा राज्यका सबै अंग र नागरिकहरूको सक्रियता एवं सचेतता आवश्यक रहेको उनले औंल्याइन्। कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रलाई अप्ठ्यारो परेका बेला महिलाहरूको भूमिका सधैँ अग्रमोर्चामा रहने गरेको इतिहाससमेत स्मरण गराइन्।

वि.सं. २०३५/३६ र २०६२/६३ सालका आन्दोलनबारे बताउँदै राजनीतिक र सामाजिक परिवर्तनमा नेपाली महिलाको योगदान अतुलनीय रहेको सुनाइन्। आफू नेकपा एमालेको महिला भ्रातृ संस्थाको नेतृत्वमा रहँदाको अनुभव सुनाउँदै उनले महिला सहभागितालाई केवल संख्यामा मात्र सीमित नगरी अर्थपूर्ण र निर्णायक बनाउनुपर्नेमा जोड दिइन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>