देश/प्रदेश
खोटाङमा पाइप खरिदमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

विराटनगर,चैत २९-
कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, खोटाङमा भएको पाइप खरिद अनियमितताको छानबिन शुरू गरेको छ । मन्त्रालयले उक्त प्रकरणको अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
यही चैत १९ गते लोकान्तरमा ‘कोशीमा कागजी विकास स् कामै नगरी करोडौं भुक्तानी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
उक्त समाचारमा महालेखा परीक्षकको २०८१ को प्रतिवेदनलाई उद्धृत गर्दै खोटाङमा पाइप खरिदमा लाखौंको अनियमितता भएको उल्लेख गरिएको थियो । समाचार सार्वजनिक भएपछि मन्त्रालयले गम्भीर चासो देखाउँदै एक्सन लिएको हो ।
मन्त्रालयका सचिव पुष्कर पोखरेलले समाचार सार्वजनिक भएपछि जनतालाई यथार्थ जानकारी गराउनु राज्यको दायित्व भएको भन्दै छानबिन समिति बनाइएको बताए ।
मन्त्रालयका शाखा अधिकृत ईश्वर थापाको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरिएको र उक्त समितिले काम शुरू गरिसकेको उनले बताए ।
महालेखाको प्रतिवेदन अनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, खोटाङले १८ वटा खानेपानी आयोजनाका लागि ३ करोड ६३ लाख ८८ हजार रूपैयाँ लागतमा ४ लाख २७ हजार १३२ मिटर पाइप खरिद गरेको थियो ।
कार्यालयको जिन्सी खातामा उक्त सबै पाइप खर्च भएको देखाइए पनि नापी किताबमा ३ लाख ८२ हजार ५२७ मिटर मात्र जडान भएको पाइएको छ । जडान भएको र खरिद गरिएको विवरण भिडाउँदा ४४ हजार ५४५ मिटर पाइप कम देखिएको र जसलाई प्रतिवेदनले अनियमितताको रूपमा उल्लेख गरेको छ ।
मन्त्रालयले यसअघि डिभिजन कार्यालयलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ आए पनि चित्तबुझ्दो नभएपछि विस्तृत छानबिनका लागि समिति बनाइएको सचिव पोखरेलले बताए ।
यसैबीच, कोशी प्रदेशको सार्वजनिक लेखा समितिले पनि यो प्रकरणलाई स्थलगत अनुगमन गरिरहेको छ ।























