राजनीति
इस्लामाबादमा अमेरिका-इरान वार्ता शनिबार सुरु हुने

काठमाडौँ, चैत्र २७-
पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार बिहान हुन लागेको अमेरिका र इरानबीचको ‘निर्णायक’ वार्ताले मध्यपूर्वका लाखौं मानिसको जीवन र विश्व अर्थतन्त्रको दिशालाई प्रत्यक्ष रूपमा प्रभावित गर्ने देखिएको छ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। उनीसँगै विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि सहभागी हुनेछन्। इरानले आधिकारिक रूपमा आफ्नो टोली सार्वजनिक नगरे पनि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफको नेतृत्वमा प्रतिनिधिमण्डल रहने बताइएको छ। हालैका अमेरिकी–इजरायली आक्रमणमा इरानका धेरै शीर्ष नेताहरू मारिएपछि घालिबाफ वार्ताका प्रमुख पात्र रहेका छन्।
दुई देशबीच युद्ध सुरु भएपछि पहिलोपटक प्रत्यक्ष संवाद हुन लागेको हो, जसलाई अन्तर्राष्ट्रिय समुदायले अत्यन्त संवेदनशील र ऐतिहासिक अवसरका रूपमा हेरेको छ। वार्ताको तयारीस्वरूप इस्लामाबादमा दुई दिनको सार्वजनिक बिदा घोषणा गरिएको छ, जसले राजधानीका सडकहरू असामान्य रूपमा सुनसान बनाएको छ। अमेरिकी र इरानी प्रतिनिधिमण्डलको आगमनलाई मध्यनजर गर्दै शहरभर कडा सुरक्षा व्यवस्था लागू गरिएको छ।
मुख्य सडकहरूमा कन्टेनर राखेर अवरुद्ध गरिएको छ भने सुरक्षाकर्मीहरू हरेक चोकमा तैनाथ छन्। रेड जोन क्षेत्रमा प्रवेश पूर्ण रूपमा नियन्त्रण गरिएको छ। सामान्यतया व्यस्त रहने बजार, कार्यालय र शैक्षिक संस्था बन्द हुँदा शहरमा एक प्रकारको ुशान्त तर तनावपूर्णु वातावरण देखिएको छ।






















