चितवन विशेष
भाटभटेनीलाई चितवनका सिडिओको भावुक सन्देश: भाटभटेनी बचाउन सकिएन, तपाईंको खुसीको पलको साक्षी बन्न नैतिक हक मसँग हुँदैन

चितवन, चैत्र २७-
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भाटभटेनीलाई भावुक सन्देश पठाएका छन् । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको भाटभटेनी पुनः सञ्चालनमा आएपछि प्रमुख जिल्ला अधिकारी अयालले भटभटेनीको खुशीको पलको साक्षी बन्न नैतिक हक आफूसँग नभएको भन्दै भावुक सन्देश पठाएका हुन् ।
आजदेखि चितवन स्थित भरतपुरको भाटभटेनी सञ्चालनमा आएको छ । औपचारिक कार्यक्रम नगरिएपनि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भने निमन्त्रणा गरिएको थियो । भाटभटेनीको निमन्त्रणामा प्रजिअ अर्यालले निम्ताका लागि धन्यवाद व्यक्त गरे पनि तत्काल कार्यक्रममा उपस्थित हुन नसक्ने बताएका थिए । उनी बिहानको कार्यक्रममा बोलाइएपनि दिउँसो मात्र भाटभटेनी पुगेका थिए ।
भाटभटेनीका भ्याली बाहिरका म्यानेजर विनोद भण्डारीलाई सम्बोधन गर्दै उनले निम्ताका लागि धन्यवाद व्यक्त गरेका छन् । ‘भाई निम्ताका लागि धेरै धेरै धन्यवाद । तर मेरो विवेकले मलाई बारम्बार भनिरहेको छ—आफ्नो जिम्मेवारीमा हुँदा भाटभटेनी बचाउन सकिएन,” अर्यालले सन्देशमा भनेका छन् । “अहिले तपाईंहरू उठ्नुभयो, खुशीको पलको साक्षी बन्ने नैतिक हक मसित छैन,” उनको भनाइ छ। चितवनमा आगजनीमा परेको भाटभटेनी थप व्यवस्थितका साथ आजदेखि सञ्चालनमा आएको छ ।
























