चितवन विशेष

चितवनमा दशौँ स्वास्थ्य बीमा दिवस मनाईयो, सेवा सुधारमा जोड

Banner

चितवन, चैत्र २५-

चितवनमा दशौँ स्वास्थ्य बीमा दिवस २०८२ मनाईएको छ । स्वास्थ्य बीमा बोर्ड भरतपुर शाखाले “तपाईँको स्वास्थ्यमा हाम्रो अठोट, राज्यको लगानी नागरिकको योगदान” भन्ने नारासहित आज (बुधबार) एक कार्यक्रमका बिच दिवसको मनाएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चितवनका करिब ८५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेको जानकारी दिनुभयो । उहाँले बीमित नागरिकलाई सर्वसुलभ र प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । साथै, दिउँसो १ बजेसम्म उपलब्ध गराउनुपर्ने सेवा ५ बजेसम्म भए पनि सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कर्मचारी तथा सरोकारवालाहरुलाई स्वास्थ्य बीमाको “एम्बेस्डर” का रूपमा जिम्मेवार ढंगले काम गर्न पनि आह्वान गर्नुभयो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले स्वास्थ्य बीमाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिँदै गम्भीर रोगका बिरामीका लागि बीमा रकम पर्याप्त नभएको उल्लेख गर्नुभयो । उहाँले विपन्न परिवारले अझै पनि सहज रूपमा उपचार सेवा पाउन नसकेको भन्दै उनीहरूलाई लक्षित सेवा विस्तार आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्डका कर्मचारी हरिप्रसाद सुवेदीले जिल्लाको स्वास्थ्य बीमासम्बन्धी तथ्यांक प्रस्तुत गर्नुभएको थियो । चितवन मेडिकल कलेजका प्रतिनिधि अरुण पौडेलले स्वास्थ्य बीमा अत्यन्त आवश्यक कार्यक्रम भए पनि यसको प्रभावकारी व्यवस्थापनमा सुधार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँका अनुसार बीमामार्फत आउने बिरामीको अपेक्षा उच्च हुने भए पनि ऐन–नियमका कारण सेवा प्रवाहमा चुनौती देखिएको छ ।

स्वास्थ्य बीमा बोर्ड भरतपुरका संयोजक रमेश धमलाले चितवनमा बीमितको संख्या बढेसँगै स्रोत–साधनको अभावका कारण व्यवस्थापनमा केही समस्या देखिएको बताउनुभयो । साथै, स्थानीय तहहरूले स्वास्थ्य बीमा व्यवस्थापनमा राम्रो काम गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>