राजनीति
शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरालाई टार्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छः काँग्रेस सांसद रोकाय

काठमाडौँ,चैत २३ –
राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
शेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरु बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उहाँको भनाई थियो । सोमवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा आएको गिरावटले लगानी कर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शेयर बजारमा लगानी कर्ताले करिव ३ खर्व गुमाएका छन् । नयाँ र बलियो सरकार आईसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए । तर सरकारले उद्यागी व्यवसायी माथि गरेको एक्शनले पुँजी बजार अव बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिशनले जनाएको छ । सम्माननीय अध्यक्षज्यु, अहिले त्रासका कारण ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेकोछ । यसतर्फ सम्माननीयज्युमार्फत म नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद रोकायाले पूँजी बजार अब बढन नपाउने भन्ने आशंका पनि सरकारले तत्काल निवारण गर्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
























