चितवन विशेष

चितवनमा एसइइको उत्तरपुस्तिका तीव्र गतिमा परीक्षण, अंग्रेजिको उत्तरपुस्तिका सकियो, नेपालीको अन्तिम चरणमा

Banner

चितवन, चैत्र २२-

चितवनमा माध्यमिक शिक्षा परीक्षा (एसइइ)को उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका अनुसार यस वर्ष सरकारको नयाँ व्यवस्था अनुसार जिल्लामा सञ्चालित परीक्षा केन्द्रमै तीव्र गतिमा उत्तरपुस्तिका परीक्षणको कार्य भइरहेको हो ।

इकाइका प्रमुख लक्ष्मण देवकोटाका अनुसार आइतबार दिउँसोसम्म अंग्रेजी विषयको सम्पूर्ण उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ भने नेपाली विषयको परीक्षण अन्तिम चरणमा पुगेको छ । उनले भने,–‘सरकारको निर्णयअनुसार हामीले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिरहेका छौँ । अंग्रेजी विषयको परीक्षण पूरा भइसकेको छ भने नेपाली विषयको आज साँझसम्म सक्ने लक्ष्य राखिएको छ ।’

यसैगरी गणित विषयको उत्तरपुस्तिका परीक्षण पनि आइतबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ । अन्य विषयहरूको परीक्षण कार्य पनि क्रमशः अगाडि बढाइने उनले बताए । परीक्षा केन्द्रमै परीक्षण गर्ने व्यवस्थाले उत्तरपुस्तिका ढुवानीको झन्झट हटाउनुका साथै समयमै नतिजा प्रकाशन गर्न सहयोग पुग्ने विश्वास उनले गरे । ‘अहिले परीक्षण कार्य छिटो, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने ‘यसरी काम गर्दा परीक्षाको नतिजा निकाल्न छिटो हुन्छ।’

परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षण गर्ने व्यक्तिलाई विद्यार्थीको नाम थाहा नभएपनि विद्यालयको नाम भने थाहा हुन्छ । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा निष्पक्षता माथि भने प्रश्न उठ्न थालेको छ । यद्यपि निष्पक्षता रुपमा उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिइएको उनले बताए । ‘हाइहेल्लो नगरी फेयर तरिकाले उत्तर पुस्तिका जाँच गर्ने हो भने ठिक छ । नतिजा कम आएमा रिचेकको व्यवस्था पनि छ,’ उनले भने ‘शिक्षकको नियत नै खराब भए त के गर्न सकिएला र नभए हार्मील निष्पक्ष जाँच गर्न भनेका छौँ।’ परीक्षामा सहभागी विद्यार्थीहरूको भविष्यसँग जोडिएको यस महत्वपूर्ण प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन शिक्षकहरूलाई आवश्यक निर्देशन र तालिमसमेत प्रदान गरिएको उनले बताए । परीक्षण कार्यमा संलग्न शिक्षकहरूलाई निष्पक्ष र उत्तरदायी ढंगले मूल्यांकन गर्न आग्रह गरिएको छ ।

चितवन जिल्लामा एसइइ परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा भइरहेको छ । जिल्लामा ६ हजार १७० छात्रा र ६ हजार २८२ छात्र सहित १२ हजार ४५२ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका छन् । जसमध्ये नियमित तर्फ २११ जना प्राविधिक सहित १० हजार ५७९, ग्रेड बृद्धितर्फ १३३ प्राविधिक सहित १ हजार ८७३ रहेका छन् ।

जिल्लामा ४२ वटा परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भइरहेको छ । ३४ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । जसमा परीक्षामा सहभागि हुने विद्यालयको संख्या २४४ रहेको उनले बताए । जिल्लामा सामुदायिक तर्फ १२४, संस्थागत तर्फ ११३ र धार्मिक विद्यालय तर्फ ७ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागि छन्, उनले भने ‘सामुदायिक विद्यालयका परीक्षार्थीको संख्या ६ हजार ७५४ रहेको छ।’ यस्तै संस्थागत विद्यालयका विद्यार्थी ५ हजार ५८८ र धार्मिक विद्यालयका ११० जना विद्यार्थीले यसपटक एसइइको परीक्षा दिइरहेका छन् ।

चितवन जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकाबाट ७ हजार ३९ जना विद्यार्थीले परीक्षा दिँदैछन् । त्यस्तै रत्ननगर नगरपालिबाट १ हजार ८१६, खैरहनी नगरपालिकाबाट १ हजार २४९, राप्ती नगरपालिकाबाट ८८९, कालिका नगरपालिकाबाट ५४७, माडी नगरपालिकाबाट ४६९ र इच्छाकामना गाउँपालिबाट ३४० जना विद्यार्थी एसइइ परीक्षामा सहभागि छन् । चितवनमा अघिल्लो वर्ष १२ हजार ३५६ जनाले परीक्षा दिएका थिए ।फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>