राजनीति
बाँदर नियन्त्रण गर्न प्रधानमन्त्री बालेनसँग गण्डकीका सांसदहरूको माग

काठमाडौं, चैत्र २०-
गण्डकी प्रदेशका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सँग बाँदर नियन्त्रण गर्न माग गरेका छन् । शुक्रबार (चैत २०) क्षेत्रगत समस्या बुझ्नका लागि प्रधानमन्त्रीले बोलाएको बैठकमा पुगेर सांसदहरूले बाँदर नियन्त्रण गर्न माग राखेका हुन् । प्रधानमन्त्रीसँग छलफलमा सहभागी एक सांसदका अनुसार, प्रधानमन्त्री बालेनले सांसदहरूको कुरा र क्षेत्रगत समस्या सुनेका छन् ।
ूप्रधानमन्त्रीज्यूले हाम्रा मागहरू राम्रोसँग सुन्नुभयो । हामीले उमेदवार हुँदा गरेका वाचाहरू कार्यान्वयन गर्ने विषय राखेका छौँ । हामीले बाँदर आतंकबाट नागरिकलाई उन्मुक्ति दिनका लागि सरकारबाट ठोस कदम चाल्न आवश्यक रहेको माग राख्यौँ,” ती सांसदले भने । उनका अनुसार, देशभरका ४१ वटा जिल्लामा बाँदर आतंकको समस्या रहेको रिपोर्ट छ । “अध्ययन समिति बनेको पनि रहेछ, त्यसका सुझावहरू पनि हेर्छौं र विज्ञ टोली बनाएर काम गर्ने भन्ने सुझाव राखेका छौँ,” ती सांसदले भने ।
स्वतन्त्र सांसद महावीर पुनसहित गण्डकीका ११ जिल्लाबाट विभिन्न पार्टीबाट निर्वाचित १८ जना सांसद शुक्रबार प्रधानमन्त्रीले बोलाएको बैठकमा पुगेका थिए । अर्का सांसदले भने प्रधानमन्त्रीले धेरै कुरा नबोलेको बताए । “प्रधानमन्त्रीले गण्डकी प्रदेशका समग्र समस्या सुन्नुभयो । बाँदर नियन्त्रणलगायत विषयमा छोटो प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । समग्र समस्याका विषयमा टिपोट पनि गरिएको छ,” ती सांसदले भने । यसअघि प्रधानमन्त्री बालेनले कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका सांसदहरूसँग छलफल र क्षेत्रगत समस्या बुझेका थिए ।
























