अन्तर्राष्ट्रिय
इरानको ‘खार्ग टापु’ कब्जा गर्न सकिने ट्रम्पको चेतावनी

वासिङ्टन, चैत्र १६-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख इन्धन केन्द्र ‘खार्ग टापु’ कब्जा गर्न सकिने इरानको तेल नियन्त्रणमा लिन सक्ने बताएका छन् ।
ट्रम्पले तेल नियन्त्रणमा लिनुको अर्थ खार्ग टापु कब्जा गर्नु पनि हुन सक्ने संकेत गरे । “हुनसक्छ हामी खार्ग टापु लिन्छौँ, हुनसक्छ लिँदैनौँ । हामीसँग धेरै विकल्प छन्,” उनले अगाडि थपे, “यसको अर्थ हामीले केही समय त्यहाँ (खार्ग टापु) बस्नुपर्ने पनि हुन सक्छ ।”मध्यपूर्वमा थप ३ हजार ५ सय अमेरिकी सैनिक आइपुगेकै समयमा राष्ट्रपतिको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।
उक्त टापुको रक्षा प्रणालीबारे सोधिएको प्रश्नमा उनले इरानी सैन्य प्रतिरक्षा बलियो नभएको दाबी गरे । “मलाई लाग्दैन उनीहरूसँग कुनै प्रतिरक्षा संयन्त्र छ । हामीले त्यसलाई निकै सजिलै कब्जा गर्न सक्छौँ,” ट्रम्पले भने ।
यद्यपि, ट्रम्पले पाकिस्तानका ‘दूतहरू’ मार्फत अमेरिका र इरानबीच भइरहेको अप्रत्यक्ष वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन् । तर, तत्कालै युद्धविरामको सम्झौता हुनेरनहुनेबारे भने उनले कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, “सम्झौता निकै छिट्टै हुन सक्छ ।”



























