चितवन विशेष
चितवनमा भोली युवा महिला उद्यमी शिखर सम्मेलन हुने

चितवन, चैत्र १३-\
चितवनमा महिला उद्यमीलाई लक्षित गर्दै ‘युवा महिला उद्यमी शिखर सम्मेलन–२०२६’ हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा भोलि चितवनको सिराईचुली होटलमा कार्यक्रम हुन लागेको आज(शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
महिलालाई उद्यम तर्फ आकर्षित गर्नका लागि शिखर सम्मेलनको आयोजना गरिएको कार्यक्रम संयोजक सन्धा कंडेलले जानकारी दिइन् । महिला उद्यमी, व्यवसायीक महिला, विद्यार्थी र भावी उद्यमीहरुलाई एउटै मञ्चमा ल्याउनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले कार्यक्रममा सहभागि भइदिन समेत आग्रह गरिन् ।
शनिवार बिहान ११ बजेदेखि साँझ चार बजेसम्म हुने क्रममा प्यानल छलफल समेत हुनेछ । प्यानलिस्टमा प्रार्थना साखा, निकिता जलान, सिता अधिकारी सञ्जीता घिमिरे लगायतका रहेका छन् । प्रमुख वक्ताको रुपमा प्राध्यापक डा शारदा थपलिया रहेकी छिन् । इनपावर इलिभेट नारा दिईएको कार्यक्रममा ४ सय जना सहभागि हुने अनुमान गरिएको छ । कार्यक्रममा सहभागि हुनका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
चितवनमा पहिलोपटक सञ्चालन गर्न लागिएको कार्यक्रममा भाग लिनका लागि चितवन र वरपरका महिला उद्यमीहरुलाई खुल्ला निमन्त्रणा दिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा शैक्षिक, बैंकिङ तथा वित्तीय संस्था र सरकारी निकायहरुसँग पनि साझेदारी रहेको बताइएको छ । नेपालमा पुरुषकोभन्दा महिलाको जनसंख्या बढी रहेको छ । तर औपचारिक कर्जामा उनीहरुको पहुँच अझै पनि कम रहेको छ । यस्तो अवस्थामा ज्ञान, सञ्जाल र प्रेरणाको माध्यमबाट त्यो खाडल पुर्नलाई कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।
























