चितवन विशेष

चितवन निकुञ्ज भित्र नयाँ कृतिम पोखरी निर्माण (फोटो फिचर)

Banner

चितवन, चैत १३–

नेपालकै पहिलो निकुञ्ज हो चितवन राष्ट्रिय निकुञ्ज । वि.सं.२०३० असोज ४ गते स्थापना भएको यो निकुञ्ज बाघ, हात्ती, गैंडालगायत वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । मानवलाई जस्तै वन्यजन्तुलाई बाच्नका लागि पनि आहार र पानीको आवश्यकता पर्छ । पछिल्लो समय घाँसे मैदान, सिमसार क्षेत्र मासिदै गएपछि वन्यजन्तु संरक्षणमा चुनौति थपिदै गइरहेको छ । यही समस्यालाई ध्यानमा राखेर घाँसे मैदान र सिमसार क्षेत्रको व्यवस्थापनमा निकुञ्ज लागि परेको छ ।

यो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले सुखीभार पोष्ट नजिकै कृतिम पोखरी निर्माण गरेको छ । सुख्खायाममा पानीको अभावलाई पुर्ती गर्न ९७ मिटर लम्बाई र २५ मिटर चौडाईको सोलारसहितको पोखरी निर्माण गरिएको छ । ‘कृतिम पोखरी नजिकै एक सय मिटर पर वर्षभरि बग्ने खोल्सोबाट सोलार बोरिङ जडान गरिएको छ, घाम लागेको बेला सोलारबाट पम्पिङ भएर पानी पोखरीमा आइपुग्छ’ चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रविन पौडेलले भन्नुभयो–‘प्राकृतिक स्रोतबाट मात्रै सम्भव नभएपछि सुख्खायाममा पानीको अभावलाई पुर्ती गर्न यस्तो किसिमको मानव निर्मित पानी पोखरी निर्माण गरिएको हो ।’

चालु आर्थिक वर्षमा कृतिम पोखरी निर्माण गरिएको यो पहिलो पोखरी हो । निकुञ्जले तराई भू–परिधि कार्यक्रमको सहकार्यमा करिव ९ लाख रुपैयाँमा यो पोखरी निर्माण गरेको हो । दुई महिना अघिबाट मात्र संचालनमा आएको यो पोखरीको वन्यजन्तुले प्रयोग गर्न थालिसकेका छन् । यस्तो खालको पोखरी निकुञ्जको मुख्यालय कसरा नजिकै पनि निर्माण गरिएको छ । त्यसअघि भिम्ले पोष्ट नजिकै पनि सोलारसहितको पोखरी निर्माण गरिएको थियो । केही कृतिम पोखरी निर्माण गरिए पनि निकुञ्ज भित्र रहेका तालतलैयाको संरक्षणमा भने निकुञ्जले कठिनाई भोग्दै आइरहेको छ । ताल संरक्षणका लागि आवश्यक बजेट नहुँदा नन्द भाउजु, देवी ताललगायतका सिमसार क्षेत्र अहिले संकटमा छ ।

वन्यजन्तुको संख्या बढाउन व्यवस्थित बासस्थानको निकै महत्व हुन्छ । घाँसे मैदान र सिमसार क्षेत्र राम्रो नहुँदा वन्यजन्तु व्यवस्थापनमा कठिनाई हुन्छ । त्यसैका लागि चितवन राष्ट्रिय निकुञ्जले कृतिम सिमसार क्षेत्र निर्माण गर्न थालेको छ । यसवर्ष थप सिमसार क्षेत्र निर्माण गरिएको छ । तर पुराना सिमसार क्षेत्रको संरक्षणमा भने कठिनाई भइरहेको छ । ‘हामीसंग तालतलैया संरक्षणका लागि यसपटक सरकारी बजेट पनि भएन, दाताहरुबाट पनि आएन, बजेट नहुँदा सिमसार क्षेत्रको संरक्षणमा चुनौति थपिएको छ, आगामी वर्ष दाताहरुकै सहयोगमा संकटमा परेका सिमसार क्षेत्र संरक्षणका लागि कार्यक्रम तयार पार्दैछौं’–निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले भन्नुभयो ।

संरक्षणकै अभावमा लगभग लोप हुने अवस्थामा पुगेको तमोर ताल, लामी तालले अहिले पुनः जीवन पाएको छ । पछिल्लो वर्षमा गरिएका सरसफाईले यी तालहरु जोगिएका छन् । तर बजेट अभावका कारण विगतमा चर्चित रहेको नन्द भाउजु ताललगायतका सिमसार क्षेत्र अझै संकटमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>