चितवन विशेष
चितवनको पृथ्वीराजमार्गमा स्कुटरलाई मिक्सरले ठक्कर दिँदा महिलाको मृत्यु, सडक अवरुद्ध

चितवन, चैत ९–
चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित पृथ्वीराजमार्गमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
काठमाडौँबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्रदेश १–०२–००१ क ४५३३ नम्बरको मिक्सर गाडीले ठक्कर दिँदा स्कुटर चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटर चालक उनका श्रीमान ४० वर्षीय टपलाल श्रेष्ठ घाइते भएका छन् ।
उनको खुट्टा र शरीरका विभिन्न भागमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते श्रेष्ठको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि कुरिन्टारस्थित स्वास्थ्य चौकी लगिएको थियो भने थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा अम्ब कुमारी श्रेष्ठलाई चिकित्सकले साँझ मृत घोषणा गरेका हुन् ।
दुर्घटनापछि मिक्सर गाडी चालक फरार रहेका छन् भने सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि आक्रोशित स्थानीय सडक अवरुद्ध गरेका छन् । सडक खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरी टोलीले पहल गरिरहेको जनाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























