अन्तर्राष्ट्रिय
इरान युद्धको पहिलो ६ दिनमा ११ अर्ब ३० करोड डलर खर्च

वासिङ्टन डिसी,फागुन २८ –
अमेरिका–इरान युद्धको पहिलो छ दिनमै अमेरिकाले ११ अर्ब ३० करोड डलरभन्दा बढी खर्च गरेको अनुमान गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले यस्तो प्रारम्भिक लागत विवरण दिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार सैन्य अधिकारीहरूले मंगलबार अमेरिकी सांसदहरूलाई बन्द बैठकमा युद्धको खर्चबारे जानकारी दिएका थिए । द न्यूयोर्क टाइम्स र एनबीसी न्यूजले अज्ञात स्रोतलाई उद्धृत गर्दै यो विवरण सार्वजनिक गरेका हुन् ।
रिपोर्टका अनुसार युद्ध सुरु भएको पहिलो छ दिनमै करिब ११ अर्ब ३० करोड डलर खर्च भएको अनुमान गरिएको छ । तर यो रकम पूर्ण लागत भने होइन । रिपोर्टमा भनिएअनुसार पहिलो आक्रमणअघि मध्यपूर्व क्षेत्रमा सैनिक, हतियार तथा सैन्य उपकरण पठाउने तयारीमा लागेको खर्च यो अनुमानमा समावेश गरिएको छैन । त्यसैले युद्धको वास्तविक खर्च यस भन्दा धेरै बढी हुन सक्ने बताइएको छ । एजेन्सी



























