चितवन विशेष
भरतपुर माविको मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्र

चितवन, फागुन २०-
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चितवनको एक मतदान केन्द्रमा मतदान अधिकृतसहित शतप्रतिशत महिला कर्मचारी खटाईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुर महानगरपालिका १० स्थित भरतपुर माध्यमिक विद्यालय मतदान केन्द्रको जिम्मा महिलालाई मात्र दिइएको हो । यहाँ अघिल्लो निर्वाचनमा पनि महिलालाई मात्र निर्वाचन गराउने जिम्मा लगाईएको थियो ।
३ हजार ७२७ जना मतदाता रहेको यस मतदान स्थलमा मतदान अधिकृत, सुरक्षाकर्मी सबै महिला हुन् । यहाँ २४ जना कर्मचारी, १२ जना स्वयसेवक र २७ जना सुरक्षा कर्मी खटिएका छन् । चार वटा मतदान केन्द्र रहेको यस विद्यालयमा ‘क’ मतदान केन्द्रको मतदान अधिकृत शुशिला वाग्ले, ‘ख’ मतदान केन्द्रको मतदान अधिकृतमा विन्दु पौडेल, ‘ग’ मतदान केन्द्रको मतदान अधिकृतमा विष्णु मायाँ विके र ‘घ’ मतदान केन्द्रको मतदान अधिकृतमा विन्दु देवकोटा रहेका छन् ।
मतदान स्थल निर्माणको तयारी पुरा भएको मतदान अधिकृत विन्दु पौडेलले जानकारी दिइन् । हामीले बुध निर्माणको तयारी र काम बाडफाड् गरिसकेका छौँ, उनले भनिन् ‘हामीले सकेसम्म व्यवस्थित साथ निर्वाचन सम्पन्न गराउनेछौँ।’ मतदानका लागि महिला–पुरुष छुट्टाछुट्टै लाइनमा लाग्ने व्यवस्था गरिएको छ ।
अहिलेसम्म आफ्नो काम कर्तव्यबारे कुनै गुनासो नआएको समेत मतदान अधिकृत विष्णुमायाँ विकेले बताईन । गत वर्ष पनि हामीले यहाँ महिला कर्मचारीले मात्र निर्वाचन समपन्न गराएका थियौँ, उनले भनिन् त्यतिखेर सबैभन्दा पहिले हामीले मतदान गराएर सकाएका थियौँ । अहिले पनि राम्रो हुने अपेक्षा छ ।’ उनले निष्पक्ष रुपमा सर्वदलिय बैठक पनि सम्पन्न गरिसकेको बताइन् ।
सुरक्षा व्यवस्थालाई पनि मजबुद बनाईएको प्रहरी साहायक निरिक्षक एलिना धानुकले बताइन् । सुरक्षाकर्मी पनि हामी महिला मात्र छौँ । ‘यो जिल्ला प्रहरी कार्यालयबाट पनि नजिक छ,’उनले भनिन् ‘आवश्यक सुरक्षा चाहिएमा हामीले यहाँ सुरक्षाकर्मी बोलाउने छौँ ।’
























