चितवन विशेष

चितवनका २ र ३का मतदान केन्द्रमा पुगे निर्वाचन सामाग्री

Banner

चितवन, फागुन १८-

चितवनमा आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत आवश्यक पर्ने निर्वाचन सामाग्री सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार मतपत्र, मतपेटिका, मतदान अधिकृतका लागि आवश्यक कागजात, मसी, स्ट्याम्प लगायतका सामग्री आज बिहानै सुरक्षा व्यवस्थासहित ढुवानी गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकृत नेत्र राज श्रेष्ठले चितवनका निर्वाचन क्षेत्र नम्बर २ र ३का सबै मतदान केन्द्रमा आवश्यक सामग्री समयमै पुगेको र मतदान कार्यतालिका अनुसार सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘मतदान प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सबै पक्षसँग समन्वय गरिएको छ । सोमबार बिहान लगेका मतदान सामाग्री चितवन २ र ३का सबै मतदान केन्द्रमा पुगेका विवरण प्राप्त भएको छ,’ उनले भने ‘क्षेत्र नम्बर १को मतदान केन्द्रमा पुगेको विवरण आउन बाँकी छ ।’
सामग्री ढुवानीका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो ।

यसैबीच, मतदान अधिकृत तथा कर्मचारीहरू पनि आ–आफ्ना केन्द्रमा खटिइसकेका छन् । मतदान निर्धारित मिति र समयमा सञ्चालन हुने आयोगले जनाएको छ । मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कर्मचारीहरुले आफ्नो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री बुझेर मतदान स्थल प्रस्थान गरेका थिए । चितवन क्षेत्र नं.२ को हकमा अन्य निर्वाचन सामग्रीहरु जिल्ला निर्वाचन कार्यालयबाट वितरण भएको थियो । मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट वितरण भइरहेको जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले जानकारी दिए ।

चितवन जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष मतदाता र २ जना अन्य मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । यस्तै ३१ सय ८५ जना अस्थायी मतदाता रहेका छन् । त्यसमध्ये १६२ जना कारागारमा रहेका कैदिबन्दी हुन् । उनीहरुले समानुपातिक तर्फ मात्र मत खसाल्न पाउनेछन् ।

निर्वाचन समपन्न भएपछि मतगणना स्थलको तयारी पनि गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार मतगणना स्थलमा तारबार सहित सिसिक्यामेरा जडानको तयारी हुँदैछ । चितवनमा क्षेत्र नम्बर १को मतगणना खैरहनीको भवानी शंकर कलेज, क्षेत्र नम्बर २मा उद्योग संघको प्रदर्शनी केन्द्र र क्षेत्र नम्बर ३मा कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मतगणना हुनेछ । चितवनमा हाल १ सय ६२ मतदान स्थल र ४ सय ९४ मतदान केन्द्र कायम गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>