चितवन विशेष

मतदान अधिकृत र सहायक अधिकृतलाई अभिमुखीकरण

Banner

चितवन, फागुन १२-

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि चितवनका निर्वाचनको मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धि प्रशिक्षण दिन थालिएको हो ।

पहिलो चरणमा चितवनको निर्वाचन क्षेत्र नम्बर २का मतदान अधिकृत र साहायक मतदान अधिकृतलाई मंगलबार तालिम प्रदान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीले जानकारी दिए । मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्नेलगायत विषयमा तालिम दिइरहेको उनले बताए ।

‘हामीले निर्वाचनलाई मर्यादित बनाउन मतदान अधिकृतलाई तालिम दिन थालेका छौँ,’ कार्कीले भने ‘पहिलो चरणमा दुई नम्बर क्षेत्रका मतदान अधिकृतलाई तालिम प्रदान ग¥यौँ । भोलि (बुधबार) चितवन क्षेत्र नम्बर ३ र पर्सि (बिहीबार) चितवन क्षेत्र नम्बर १मा खटिने मतदान अधिकृतलाई तालिम प्रदान गर्दै छौँ ।’ उनका अनुसार ती सबै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक स्तरका कर्मचारीलाई आजदेखि नै नियुक्तीपत्र हस्तान्तरण गरिने छ ।

कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मतदान अधिकृतलाई निष्पक्ष रहेर मतदान सफल बनाउन निर्देशन दिएका छन् । ‘तपाईहरु समयमा मतदान केन्द्रमा पुग्नुपर्छ, त्यहाँ योजना बनाउनुहोस् । गोपनियता कायम गर्नुहोस् । प्रस्तुतीकरणमा ख्याल राख्नुपर्छ । तपाईहरुले धैर्यता पनि कायम राख्नुपर्छ’ उनले भने ‘निर्वाचनमा खटिने कर्मचारीलाई पार्टी र उम्मेदवारको पक्षधता देखाए कारबाही हुन्छ ।’ आर्यालले निर्वाचनको समयमा केही समस्या आएमा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेद्वारसँग मिलेर समाधान गर्न सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक गोविन्द पुरीले निर्वाचनको सुरक्षाका लागि प्रहरी पूर्ण रुपमा तयार भएको बताए । उनले नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरीले निर्वाचनको पूर्ण सुरक्षा दिने बताए । ‘कसैले निर्वाचनको बुथ कब्ज गर्न सक्दैन,’ उनले भने ‘हामीले सम्पूर्ण नागरिकको सुरक्षा दिन तयारी अवस्थामा छौँ ।’

मतदान केन्द्रमा फागुन १८ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई निर्वाचन सामाग्री, मतपत्र, मतपेटीका साथै सुरक्षा टोलीसहित पठाइने प्रमुख निर्वाचन अधिकृत कार्कीले जानकारी दिए । उनका अनुसार जिल्लामा कुल मतदाता संख्या ४ लाख ४२ हजार ८२ छ । जसमा महिला २ लाख २४ हजार ७६६ र पुरुष २ लाख १७ हजार ३१४ रहेका छन् । त्यसैगरी अन्य मतदाता दुई जना छन् ।

चितवन–१ मा १९, चितवन–२ मा २३ र चितवन–३ मा १८गरी कुल ६० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । दर्ता गराएकामध्ये चितवन–१ मा दुई जना, चितवन–२ मा सात जना र चितवन–३ मा नौ जना गरी कुल १८ जना मात्रै महिला रहेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । चितवनमा १६२ मतदान स्थल र ४९४ मतदान केन्द्र रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>