चितवन विशेष

चितवनका विद्यार्थी र अभिभावकलाई अन्तर्राष्ट्रिय शिक्षा र प्रविधिको महत्व बारे प्रशिक्षण

०
Banner

चितवन, फागुन २–

चितवनमा अन्तर्राष्ट्रिय शिक्षा तथा प्रविधि केन्द्रित कार्यक्रम मध्ये एक मानिएको ‘फल इन लभ विथ योर फ्युचर अर्थात् “आफ्नो भविष्यसँग प्रेम गर” कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुरमा आज (शनिबार) सम्पन्न कार्यक्रममा ४ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । वाइज एडमिटले आयोजना गरेको कार्यक्रमको नेतृत्व संस्थापक तथा सीइओ डा.रुपेश रेग्मीले गर्नुभएको थियो । कार्यक्रमको भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले समुद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा चाइनिज सोसाइटीका अध्यक्ष श्री ट्याङ, विश्वव्यापी कम्पनी न्यू होप ग्रुपका प्रतिनिधि श्री हान र उनको टोलीको विशेष उपस्थिति रहेको थियो। विश्वभर १ लाखभन्दा बढी कर्मचारी रहेको र चितवनमै सञ्चालनमा रहेको न्यू होप कम्पनीको सहभागिताले नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रिय अवसरहरू नजिकै रहेको सन्देश दिएको थियो।

चितवनमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले चिनियाँ नयाँ वर्ष उत्सव, शिक्षा, प्रविधि र सांस्कृतिक अनुभवलाई एकै ठाउँमा प्रस्तुत गरेको थियो। सहभागीहरूले चिनियाँ क्यालिग्राफी, पेपर कटिङ, चपस्टिक प्रयोग, चिनियाँ स्न्याक्स तथा आधारभूत चिनियाँ भाषा सिक्ने अवसर पाएका थिए ।

वाइज एडमिटका संस्थापक डा. रुपेश रेग्मीले चीनमा आफ्नो करिब दुई दशकको अनुभव साझा गर्दै “चीनबाट सिकेका ७ महत्वपूर्ण कुराहरू र किन नेपाली विद्यार्थीले एसियाको उदाउँदो प्रविधि र एआईको भविष्य बुझ्न जरुरी छ” भन्ने विषयमा प्रेरणादायी प्रस्तुति दिनुभयो। उहाँले अब नेपालले पश्चिम मात्र होइन, उत्तरतर्फ पनि हेर्नुपर्ने र एसिया नै भविष्यको प्रविधि, नवप्रवर्तन र अवसरको केन्द्र बन्दै गएको बताउनुभयो।

कार्यक्रममा पूर्ण दवाडीले चीनले गरेको विकास र रूपान्तरणबाट नेपालले सिक्नुपर्ने मुख्य पक्षहरूबारे विचार राख्दै, अनुशासन, दीर्घकालीन सोच र प्रविधिमा लगानीले कसरी देशलाई अगाडि बढाउँछ भन्ने विषयमा जोड दिनुभयो।

त्यस्तै स्वीकार शर्माले आजको युवापुस्ताले जुनसुकै क्षेत्रमा भए पनि कन्टेन्ट क्रिएसन सुरु गर्नु किन आवश्यक छ भन्ने विषयमा प्रेरणादायी प्रस्तुति दिँदै डिजिटल युगमा व्यक्तिगत ब्रान्ड र सीप विकासको महत्वबारे स्पष्ट सन्देश दिनुभयो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>