खेलकुद
भरतपुर मेयर कप क्रिकेट सुरु, दुर्गा शेषकान्त माविको विजयी सुरुवात

चितवन, माघ ३–
भरतपुर ‘मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ सुरु भएको छ ।
शनिबारदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहालले समुद्घाटन गर्नुभयो । उहाँले खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरुप विगत केही वर्षयता यो प्रतियोगितालाई निरन्तरता दिएको बताउनुभयो ।
यस्तै उद्घाटन खेलमा आज दुर्गाा शेषकान्त मावि र राष्ट्रिय मावि तोरीखेतबीच प्रतिस्पर्धा भएको छ । खेलमा दुर्गा शेषकान्त मावि ३८ रनले विजयी भयो । १७१ रनको लक्ष्य पछ्याएको राष्ट्रिय मावि तोरीखेत १३२ रनमै अलआउट भएपछि दुर्गा शेषकान्त मावि ३८ रनले विजयी भएको हो । तोरीखेतका ऋतिकरोशन राउतले सर्वाधिक ३२ रन बनाए । तोरीखेतलाई १५.१ ओभरमा अलआउट भयो । दुर्गा शेषकान्तका विनोद विक र रोशन शाहले समान २–२ विकेट लिए । आकाश चेपाङ, रवि राउत र ज्ञानदेव चौधरीले समान एक–एक विकेट लिए ।
टस हारेर पहिलो ब्याटिङ गरेको दुर्गा शेषकान्त २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो । उसका लागि रवि राउत कंकारले सर्वाधिक ७५ रनको अर्धशतकीय पारी खेले । रोशन साहले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
तोरीखेतका ऋतिक रोशन राउत र अदित्य पटेलले समान २–२ विकेट लिए भने शैलेस दास र दिलिप दासले समान एक–एक विकेट लिए ।
प्रतियोगितामा कुल भरतपुर महानगर भित्रका ४२ वटा विद्यालयको सहभागिता रहेको छ । ती मध्ये ६ वटा विद्यालय अघिल्लो वर्ष उत्कृष्ट ६ मा रहँदै सिधै दोस्रो चरणमा स्थान बनाएका छन् । अहिले ३६ वटा विद्यालयबीच पहिलो चरणमा प्रतिस्पर्धा हुनेछ भने १८ टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा प्रवेश गर्ने २४ वटा टिमलाई ६ वटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । प्रत्येक समूहबाट उत्कृष्ट टिम लिग चरणमा प्रवेश गर्नेछ । ६ टिमलाई दुई समूहमा विभाजन गरी लिग चरणको प्रतिस्पर्धा गराइने प्रतियोगिता निर्देशक प्रशान्त पियाले जानकारी दिनुभयो ।
उद्घाटन सत्र चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष उमेश पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
























