चितवन विशेष
चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, क्षेत्र नं.१ र ३ मा आजै स्थापना गरिने

चितवन, माघ २–
आउँदो फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आज (शुक्रबार) बिहान चितवन जिल्ला अदालतका न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेल र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको समुद्घाटन गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत पौडेलले आज नै चितवनका क्षेत्र नं.१ र ३ मा पनि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तालिका अनुसार निर्वाचन कार्यक्रम प्रकाशन, मतदान स्थान र केन्द्र तोकिएको सूचना प्रकाशित गरिने छ । ‘दिउँसो क्षेत्र नं.१ र ३ मा निर्वाचन कार्यालय स्थापना गर्छौ, लगत्तै निर्वाचनको कार्यक्रम अघि बढाउँछौं’–मुख्य निर्वाचन अधिकृत पौडेलले भने ।
चितवन क्षेत्र नं.२ मा पर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुर–१०, स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्य कार्यालयको पुरानो भवनमा स्थापना गरिएको हो । त्यस्तै क्षेत्र नं.१ का लागि भूमिगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं.३ का लागि रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निर्वाचनलाई सफल बनाउन माघ ४ गते सबै राजनीतिक दलदेखि सर्वपक्षीय बैठक बस्ने जानकारी दिए । उनले निर्वाचन कार्यालय स्थापनासंगै ती ठाउँहरुमा जनशक्ति खटाउने काम अघि बढ्ने बताए ।
क्षेत्र नं.१ को निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका विकास कुमार रजक र क्षेत्र नं.३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौला निर्वाचन अधिकृत तोकिनु भएको छ । चितवनमा यसपटक कुल मतदाता ४ लाख ४२ हजार ८२ जना रहेका छन् । जेनजी बिद्रोहपछि २० हजार ६९० जना मतदाता थपिएका छन् । यस्तै जिल्लामा कुल १६२ मतदान स्थल रहेका छन् भने ४९४ वटा मतदान केन्द्र तोकिएको छ ।





















