चितवन विशेष
चितवनमा ११औं खिचरा महोत्सव सुरु

चितवन, पुस २९-
थारु कला संस्कृति संरक्षण गर्न आजदेखि चितवनको खैरहनीमा ११औं खिचरा महोत्सव–२०८२’ सुरु भएको छ ।
खैरहनी–५ गौचरनमा सुरु भएको महोत्सवको बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले समुद्घाटन गर्नुभयो । मन्त्री पौडेलले थारु समुदायको महत्वपूर्ण चाड माघी (खिचरा) पर्वको संरक्षण गर्न महोत्सव नै आयोजना गर्नु सकरात्मक कदम भएको बताउनुभयो ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव समुद्घाटन अघि झाकी सहितको शोभा यात्रा निकालिएको थियो । चितवनका थारु समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समारोह समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघसंस्थाका स्टल रहेको छ । यस्तै महोत्सव परिसरमा थारु कलासंस्कृति झल्किने आर्ट ग्यालरी समेत निर्माण गरिएको छ ।
























