राजनीति

भवन हस्तान्तरण भएसँगै छात्रावास सञ्चालन गरिने

०
Banner

भोजपुर ,कात्तिक २१-

भोजपुर नगरपालिका वडा नम्वर ६, देउराली स्थित सुम्निमा बहुप्राविधिक शिक्षालयमा आगामी शैक्षिक सत्रदेखि छात्रछात्राका लागि छुट्टाछुट्टै निःशुल्क छात्रावास सञ्चालन गरिने भएको छ । साविक शैक्षिक तालिम केन्द्र भोजपुरको मुख्य भवनलगायत भौतिक संरचना र जग्गा परिसर शिक्षालयलाई हस्तान्तरण गर्ने सम्झौता भएसँगै छात्रावास पनि सञ्चालन गर्न लागिएको शिक्षालय प्रमुख डा। नवीन चापागाईँले बताए ।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय विराटनगरको निर्णयबाट स्वीकृति प्राप्त भएसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) केन्द्रीय कार्यालय सानो ठिमी, भक्तपुरको सहमतिमा शिक्षा तालिम केन्द्र इनरुवा, सुनसरीका प्रमुख यादव प्रसाद दुलाल र सुम्निमा बहुप्राविधिक शिक्षालय भोजपुरका प्रमुख डा. चापागाईँबिच बरबुझारथ हस्तान्तरण तथा द्विपक्षीय सम्झौता भएको हो । सम्झौता परिषद् कोशी प्रदेश कार्यालय इटहरी, सुनसरीको रोहवरमा भएको छ ।

सम्झौता अनुसार हस्तान्तरणसँगै शिक्षालयले भवन तथा जग्गा परिसरको सुरक्षा, संरक्षण र उपयोग गर्ने जिम्मेवारी पाएको छ । यो सम्झौता अनुसार आगामी शैक्षिक सत्रदेखि महिला र पुरुषका लागि छुट्टाछुट्टै निःशुल्क छात्रावास तयार गरी आवासीय सुविधासहित पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको प्रमुख डा. चापागाईँले बताए ।

भोजपुरका विभिन्न स्थानीय तहबाट छात्रवृत्र् िप्राप्त गरी विद्यार्थीहरूले शतप्रतिशत निःशुल्क पठनपाठनको अवसर शिक्षालयमा पाउँदै आएका छन् । आवास सुविधा थपिएपछि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीको आकर्षण बढ्ने तथा सिकाइ प्रक्रिया, शैक्षिक गुणस्तर र उत्तीर्ण दरमा सुधार आउने प्रमुख डा. चापागाईँको भनाइ छ ।

शिक्षालयमा एसइईपछि अध्ययन गर्न सकिने तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन एग्रिकल्चर (एनिमल साइन्स) कार्यक्रम सञ्चालनमा छन् । यी कार्यक्रमको तीन वर्षको सम्पूर्ण शुल्क ५० हजार रुपैयाँ रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>