चितवन विशेष

तमू विद्यार्थीको राष्ट्रिय पार्षद् सभा पुस २६ र २७ गते चितवनमा हुँदै

Banner

चितवन, पुस २४-

नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ केन्द्रीय समितिको २२ औँ राष्ट्रिय पार्षद् सभा चितवनमा हुने भएको छ । छोँज धीँले यही पुस २६ र २७ गते राष्ट्रिय पार्षद् सभा आयोजना गर्न लागिएको आज (बिहीबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको हो । उत्पादन र आत्मनिर्भरता। समृद्ध र सशक्त राष्ट्र निर्माण आधारको निम्ती तमू विद्यार्थीको सक्रिय सहभागिताको निम्ती २२ औँ राष्ट्रिय पार्षद सभा गर्न लागिएको बताइएको छ ।

दुई दिनसम्म सञ्चालन हुने सभामा वार्षिक कार्यसमीक्षा तथा भावी कार्ययोजनाबारे छलफल हुने छोँज धीँका केन्द्रीय अध्यक्ष पवन गुरूङले जानकारी दिए । प्रशिक्षण सत्रमा समसामयिक राजनैतिक परिस्थिती, जेन जी विद्रोह र संगठानिक विधि र पद्धति, तमू जातिको भाषा, धर्म, संस्कार र संस्कृति, सूचना प्रविधि र संस्कृति प्रवद्र्धन तथा संगठनात्मक विकासका विषयमा प्रशिक्षण हुनेछ । जिल्ला, प्रदेश तथा विभागीय प्रमुखबाट रिपोटिङ र केन्द्रको संगठानीक तथा आर्थिक प्रतिवेदन माथी छलफल गर्दै महत्वपूर्ण निर्णय पास गर्ने तयारी भएको उनले बताएका छन् ।

सभाको उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुती समेत हुनेछन् । उद्घाटन कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय अध्यक्ष धनमान तमू र केन्द्रीय पदाधिकारीहरुको उपस्थिती रहने बताईएको छ । कार्यक्रम तीन खोले गुम्बामा हुनेछ । उनका अनुसार ३२ जिल्लाका करिब एक सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् । पूर्वमा झापादेखि पश्चिममा बाँकेसम्मका प्रतिनिधि पर्यवेक्षकहरु चितवन आउने छन् । सभाले केन्द्रीय, प्रदेश र जिल्ला तहका संरचनालाई मजबुत बनाउने, नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने, नीति तथा कार्यक्रम निर्माण, विद्यार्थी एकता र नेटवर्क विस्तार, पहिचान, भाषा र संस्कृतिको संरक्षण गर्ने र शैक्षिक तथा सामाजिक राष्ट्रिय मुद्दामा स्पष्ट धारणा बनाउने अपेक्षा गरिएको छ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँको स्थापना वि.सं. २०५२ सालमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>