खेलकुद
चितवन र दिल्ली विजयी, सेमीफाइनल समीकरण पूरा

चितवन, पुस ११–
चितवनमा जारी इन्डो नेपाल टी–२० च्याम्पियनसीप अन्तरगत शुक्रबार भएका खेलहरुमा चितवन क्रिकेट क्लब र भारतको दिल्ली वन्डर्स विजयी भएका छन् । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा शुक्रबार लिग चरणको अन्तिम खेलमा दिल्ली वन्डर्स र चितवन क्रिकेट क्लब विजयी भएसंगै सेमीफाइनल समीकरण समेत पूरा भएको छ ।
पहिलो खेलमा चितवनले भारतको तलतला इन्स्टिच्युटलाई ७ विकेटले पराजित ग¥यो । तलतलाले दिएको १२२ रनको लक्ष्य चितवनले १२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । चितवनको जितमा दीपक प्रसाद डुम्रेले ३१ बलमा ७२ रनको योगदान दिए । रोशन झाले २२ रन बनाए भने प्रतिक श्रेष्ठ २० रनमा अविजित रहे । तलतलाका लागि प्रशान्त श्रीवास्तबले २ र बोबी शंकरले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको तलतला १६ ओभरमा ९ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । तलतलाका लागि निखिल रावले ३९ रन बनाए । आशुतोष पटेलले ३१ रन बनाए ।
चितवनका लागि दीपेश श्रेष्ठले ३ ओभरमा १० रन खर्चिदै ३ विकेट लिए भने दीपेश कंडेल, गौतम केसी र शुभ कंशकारले समान २–२ विकेट लिए । अर्धशतक बनाएका चितवनका दीपक प्रसाद डुम्रे प्लेयर अफ द म्याच घोषित भए ।
यस्तै आज (शुक्रबार) नै भएको लिगको अन्तिम खेलमा दिल्ली वन्डर्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई १०३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । जितसंगै दिल्ली लिगको शीर्ष स्थानमा रहँदै सेमीफाइनमा पुगेको छ ।
दिल्लीले दिएको २६८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पुलिस क्लव १७.३ ओभरमा १६४ रनमै अलआउट भयो । हारसंगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसका लागि शंकर रानाले सर्वाधिक ८७ रन बनाए । सुजन थपलियाले २२ रन बनाए ।
दिल्लीका विवेक धामीले ३ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए भने प्रदीप यादव, प्रियान्स भारद्धाज र विशाल पाण्डेले समान २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै दिल्लीले ६ विकेटको क्षतिमा २६७ रन बनाएको थियो । दिल्लीका मोहम्मद कैफले ३५ बलमा ७८ रन बनाए । निशान्त यादवले अविजित ५५, हर्षित सेठ्ठीले ५१ रन बनाए भने प्रियान्स भारद्धाजले ७ बलमा ५ छक्काको मद्धतमा अविजित ३१ रन बनाए ।
नेपाल पुलिस क्लबका लागि अशोक धामी र अरुण ऐरीले समान २–२ विकेट लिए भने दीपेन्द्र रावत र श्रवण यादवले समान एक–एक विकेट लिए । महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । खेलमा मोहम्मद कैफ प्लेयर अफ द म्याच घोषित भए ।
पहिलो सेमीफाइनलमा शनिबार विहान दिल्ली वन्डर्स र विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमीफाइनलमा घरेलु टोली चितवन क्रिकेट क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल पुस १३ गते हुनेछ ।
























