चितवन विशेष
देवघाटलाई पुस ११ गते प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने

चितवन, पुस ९-
पवित्र तिर्थस्थल देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले यही पौष ११ गते विशेष कार्यक्रमका बिच प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागेको आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
घोषणा पश्चात देवघाटधाम क्षेत्रभित्र एकपटक प्रयोग हुने प्लास्टिक झोला बोतल, गिलास, प्लेट तथा अन्य प्लास्टिकजन्य सामग्रीको प्रयोगमा क्रमशः निषेध गरिने देवघाट क्षेत्रविकास समितिका अध्यक्ष डा.ईश्वरीराज लौडारीले जानकारी दिए । उनका अनुसार प्लास्टिक निषेधित क्षेत्र बनाउनका लागि स्थानीय सरकार, धार्मिक संघसंस्था तथा वातावरणसँग काम गर्दै आएका विभिन्न संघसंस्थासँग मिलेर अभियान सञ्चालन गरिनेछ ।
अहिले देवघाट क्षेत्रमा फोहोर व्यवस्थापनका लागि ३७ वटा मेटल विन समेत राखिएको छ । यसबाट देवघाटधामलाई स्वच्छ, पवित्र, हराभरा धार्मिक पर्यटकी गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिईएको उनले बताए । उनले नारायणी नदीको सभ्यता, देवघाटधामको पवित्रता, सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउन सबै श्रद्धालु, व्यापारी तथा आगन्तुकहरुलाई प्लाष्टिक प्रयोग नगर्न आह्वान गरे ।
त्रिशूली, कालीगण्डकी र नारायणी नदीको संगमस्थल देवघाटधामलाई हिन्दू शास्त्रमा विशेष पुण्यभूमि मानिन्छ । यहाँ स्नान, दान, पूजा–पाठ र अन्त्येष्टि गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ । देशका विभिन्न भाग तथा भारतलगायत बाह्य मुलुकबाट समेत हजारौँ तीर्थालु देवघाटधाममा दर्शन तथा स्नानका लागि आउने गर्छन् । देवघाट क्षेत्रको शव दाह गृहमा फोहोर व्यवस्थापनको चुनौती छ । त्यस्तै तिर्थ गर्न आउने भक्तजनले प्लास्टिक ल्याएर आउने भएकाले फोहोर बढी हुने गरेको केही समय अगाडि गरेको एक अध्ययनले देखाएको छ । शवदाह गृह वरपर मेटल सँगै लत्ताकपडा र प्लास्किटका बोतलहरु बढी हुने गरेका छन् ।
यस अभियानमा स्थानीय तह भरतपुर महानगरपालिका, गैडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको नीतिगत तथा कार्यगत समन्वय तथा सहकार्य रहेको उनले जानकारी दिए । डब्लु डब्लु एफ नेपाल, सहमति संस्था, नदी सँगै हामी अभियानमा संघसंस्थाहरु धार्मिक संघसंस्था, सामाजिक अभियान्ता, नागरिक समाज, टोल विकास संस्था, आमा समूह, मठ मन्दिर, विद्यालयले सहकार्य गरेको उनले बताए ।
























