चितवन विशेष

एमबीबीएसको मेरिटमा नाम निकालेका चितवनका प्रणव छात्रवृत्ति नपाएपछि सर्वोच्च पुगे

Banner

चितवन, पुस ७-

भरतपुर महानगरपालिका-९ मा रहेको गुरुकुल कलेजबाट चितवनका प्रणव तिवारीले कक्षा १२ को अन्तिम परीक्षा पास गरे । तिवारीले गुरुकुल स्कुलबाट ३.६५ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेका हुन् ।

चिकित्सक बन्ने उनको सपना थियो । तर घरको आर्थिक अवस्था कमजोर भएको कारण कक्षा १२ पछि छात्रवृत्तिमा नाम निकालेर चिकित्सक बन्ने सपना पुरा गर्न र छात्रवृत्तिमा नाम निकाल्न चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षाको तयारीमा प्रणव जुटेका थिए।

गत वर्ष आयोगले लिएको परीक्षामा ५८० औँ स्थानमा नाम निकाले। छात्रवृत्ति नपाउने भएपिन उनले हरेस खाएनन्। १ वर्ष मेहनत गरे र यस पटकभने सफल भए। आयोगले यस वर्ष लिएको एकीकृत प्रवेश परीक्षामा दुवै विषयमा प्रणवले छात्रवृत्ति पाए। मेरिट लिस्टमा एमबीबीएसमा खुलामा ७ नम्बरमा नाम निस्कियो भने बीडीएस (डेन्टल) मा ६ नम्बरमा नाम निकाले। उनले एमबीबीएस पढ्ने निर्णय गरे।

तर, एमबीबीएस पढ्न कलेज छनोट भएको सूची आयोगले पुस २ गते सार्वजनिक गर्दा प्रणवको नाम परेन। भारतबाट कक्षा १० उत्तीर्ण गरेका कारण उनले छात्रवृत्ति पाएनन् । त्यसपछि काठमाडौँ आएर महाराजगन्ज क्याम्पस (त्रिवि शिक्षण) अस्पतालमा पढ्ने प्रणवको सपना बिथोलिदयो।

आयोगको सूचना सार्वजनीक भएको भोलिपल्ट उनी परिवारका सदस्य लिएर काठमाडौँ पुगे । उनले आयोगमा आफनो नाम किन हटाएको भन्दै निवेदन पनि दिए। थर, आयोगले बोर्ड मिटिङ गरेर निर्णय गर्ने भन्यो। मिटिङ पनि भयो, तर उनको नाम मेरिट लिस्टमा आएन। बरु अदालत जानू भन्दै आयोग पन्छियो।

भारतबाट कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीलाई आयोगले छात्रवृत्ति दिन नसक्ने भन्दै आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले छात्रवृत्ति पाउन नेपालको सरकारी विद्यालय पढेको हुनु पर्ने बताएका छन् । उपाध्यक्ष डा झा नेपालभन्दा बाहिरको विद्यालयमा कक्षा ६ देखि १० सम्म पढेको विद्यार्थीलाई छात्रवृत्ति दिने परम्परा नभएको बताउँछन्। उनी भन्छन्, ‘प्रवेश परीक्षाको नतिजापछि छानबिन गर्दा, फाराम रुजु गर्दा नेपालमा पढेको नदेखेपछि छात्रवृत्ति कोटाबाट नाम हटेको हो।’

छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउनुपर्ने आफ्नो माग सुनुवाइ हुने नदेखेपछि प्रणवले हिजो  (आइतबार) सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। नेपालको संविधान, २०७२ को धारा ४६ एवं धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ भन्दै रिट दायर गरेको प्रणवले जानकारी दिए।

छात्रवृत्ति नरोक्न उनले माग गरेका छन्। यस्तै गुरुकुल स्कुलका सहप्रधानाध्यापक जगन्नाथ लामिछानेले माग सुनुवाइ नभएपछि सर्वोच्च अदालत जान बाध्य भएको जनाए। सबैतिर प्रयास गर्‍यौँ। सर्वोच्च अदालतबाट न्याय पाइन्छ कि भन्ने आशामा छौँ। प्रणवले गरेको मेहनत खेर जान नदिन हामी कानुनी लडाइँ लड्न थालेका हौँ,’ उनले भने।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>