चितवन विशेष
नारायणी अनलाइन र सञ्चारपत्र दैनिकमा प्रेस काउन्सिलद्धारा अवलोकन

भरतपुर,पुस ६-
प्रेस काउन्सिल नेपालको टोलीले चितवनबाट संचालित नारायणी अनलाइन र सञ्चारपत्र दैनिकको कार्यालयमा अवलोकन गरेको छ । आइतबार भरतपुर महानगरपालिका–१० भरतपुर हाइटस्थित कार्यालयमा टोलीले अवलोकन गरेको हो ।
प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष डा.कुमार शर्मा आचार्यसहित काउन्सिलका सदस्य शन्तराम बिडारी, नकुल अर्याल र प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहरा अवलोकनमा सहभागि हुनुभएको थियो । सो अवसरमा उहाँहरुले समाचार कक्ष, भिडिओ सम्पादन कक्ष र स्टुडिओको अवलोकन गर्नुभयो । मिडियाको अवस्था, वर्तमान समस्या र आचारसंहिताका विषयमा टोलीले जानकारी लिएको छ । काउन्सिलका अध्यक्ष शर्माले मिडिया संचालनको अवस्था र आचारसंहितका विषयमा जानकारी लिनुभयो ।
काउन्सिलका सदस्य सन्तराम बिडारीले चितवनमै रहेर नारायणी मिडियाले राष्ट्रियस्तरमानै छाप छोड्न सफल भएको भन्दै खुःशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा यही विश्वसनियता कायम गर्दै अघि बढ्न शुभेच्छा व्यक्त गर्नुभयो ।
काउन्सिलका अर्का सदस्य नकुल अर्यालले विभिन्न चुनौतिका बिच व्यवस्थित रुपमा मिडिया सञ्चालन गर्नु प्रशंसनिय रहेको बताउनुभयो । उहाँले पत्रिकाको वितरणलाई जिल्लाका पालिका केन्द्रित गर्न अनुरोध गर्दै स्थानीय स्तरका सामग्रीलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले पत्रिकाको वितरणको संख्या र वितरणको अवस्थाबारे जानकारी लिनुभयो । अनलाइनका सम्पादक कृष्ण आचार्यले पत्रकार आचासंहितको अवस्था र मिडियाले भोग्नुपरेका समस्याका विषयमा जानकारी गराउनुभएको थियो । सञ्चारपत्र दैनिकका कार्यकारी सम्पादक आनन्द पोखरेलले पत्रिकामा समावेश हुने सामाग्री र स्रोतका विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुली, उपाध्यक्ष शान्ता अधिकारी लगायतको उपस्थिति रहेको थियो । नारायणी मिडिया गु्रप अन्तर्गत नारायणी अनलाइन, सञ्चारपत्र दैनिक र नारायणी एडभरटाइजिङ एण्ड इभेन्टस् प्रा.ली सञ्चालनमा रहेको छ ।


























