चितवन विशेष

शिवप्रसाद पौडेलको स्मृतिमा संस्कृत गुरुकलका छात्रहरुलाई स्वास्थ्य परीक्षण तथा सामग्री वितरण

Banner

नारायणगढ , पुस २-

शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठान चितवनले आज शिवप्रसाद पौडेलको स्मृतिमा श्री बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ संस्कृत गुरुकलका छात्रहरुलाई स्वास्थ्य परीक्षण र सामग्री वितरण गरेको छ ।

प्रतिष्ठानले यहाँ अध्ययन गर्ने ८२ जना छात्रहरुको स्वास्थ्य परीक्षण तथा ब्याग र कपडा वितरण गरेको हो । वितरण कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष, पौडेलकी श्रीमती एवं बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले छात्रहरुलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले प्रतिष्ठानले समय–समयमा सामाजिक कार्य गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पौडेलले आश्रमका छात्रहरुको लागि आवश्यकताअनुसार स्वास्थ्य शिविर सञ्चालन गरी आँखा र दन्तसम्बन्धी उपचारको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले श्रीमान् शिव पौडेलको सामाजिक योगदानको सम्झना गर्दै यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमानले देख्नुभएको सपना मैले परिवारसँगै अगाडि बढाउँदै आएको छु । उहाँको आशीर्वाद सधैं रहिरहेको छ ।” विभिन्न सामाजिक काममा आफू सक्रिय रही प्रतिष्ठानलाई सामाजिक कार्यमा अघि बढाउँदै आएको उहाँले बताउनुभयो ।

सो अवसरमा बागेश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष अशोक पोखरेल शर्माले स्व। शिव पौडेलको योगदानको चर्चा गर्दै सानै उमेरदेखि आश्रम र समाजका लागि विभिन्न कार्यहरूमा सक्रिय भूमिका खेलेको स्मरण गराउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुलीले स्व। पौडेल सामाजिक व्यक्तित्व भएको स्मरण गर्दै प्रतिष्ठानमार्फत सामाजिक काम हुँदै आएकोमा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा आश्रमका संरक्षक शैलेन्द्र कुमार पिया, ज्ञानेन्द्रमान शाक्य, प्रतिष्ठानका पदाधिकारी, सदस्य तथा पौडेल परिवारको समेत सहभागिता रहेको थियो ।
भरतपुर चितवन निवासी स्वः शिव प्रसाद पौडेलको निधन विसं २०६८ पुस २ गते कारागार कार्यालय चितवनमा आक्रमणमा परि भएको थियो । उहाँको स्मृतिमा शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले समय–समयमा सामाजिक कार्य गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>