खेलकुद
जनकपुरविरुद्ध पावर प्लेमा लुम्बिनीको मध्यम सुरुआत

काठमाडौं, मंसिर १९-
नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्सले पहिलो पावर प्लेमा मध्यम सुरुआत गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरमा एक विकेट गुमाएर ४६ रन बनाएको छ । लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल २१ र डी‘एर्सी शर्ट १८ रनमा खेलिरहेका छन् ।
लुम्बिनीका सुमित महर्जन इनिङको पहिलो बलमै आउट भए । जनकपुरका संगिथ कोरले सुमितलाई पहिलो बलमै बोल्ड गरेका थिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।
आजको खेलमा जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ । यता, प्लेअफ पुग्ने झिनो सम्भावना कायम राख्न जनकपुर पनि जितको दबाबमा छ ।

























