खैरहनी
बिबिएस प्रथम वर्षमा चितवनको इन्टरनेशनल कलेजकी सन्जिला विश्वकर्माले ल्याइन उत्कृष्ट नतिजा

आशिष उप्रेती,
खैरहनी, मंसिर १३-
बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, खैरहनी चितवनकी विद्यार्थी सन्जिला विश्वकर्मा नेपाल तेश्रो र चितवन प्रथम भएकी छिन् । त्रिभुवन विश्वविद्यालयले मंगलबार प्रकाशित गरेको बिबिएस प्रथम वर्षको नियमित तर्फको नतिजा अनुसार चितवनबाट इन्टरनेशनल कलेज चितवनकी विद्यार्थी सन्जिला विश्वकर्माले ७९ दशमलव २ प्रतिशत (७९.२५) अंक सहित नेपालकै तेश्रो र चितवन प्रथम भएकी हुन् ।
गत साउन महिनामा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायद्वारा बिबिएस प्रथम वर्ष नियमित तर्फको परीक्षा सञ्चालन भएको थियो । राप्ती ८, थ्री ग्रुप, चितवन घर भएकी सन्जिला विश्वकर्माले बिबिएस प्रथम वर्षको नतिजामा उत्कृष्ट अंकसहित नेपालकै तेश्रो र चितवन प्रथम भएको इन्टरनेशनल कलेज खैरहनीका कलेज प्रमुख भीष्मराज पाठकले दाबी गर्नुभयो ।
विद्यार्थीहरुको निरन्तर मेहनत, प्राध्यापक तथा कलेज प्रशासनबाट अथक प्रयास र अभ्यासले गर्दा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउँदै उहाँले कलेजको भौतिक पूर्वाधार सहितको आधुनिक प्रयोगशाला, अत्याधुनिक कक्षा कोठा, योग्य तथा अनुभवी दक्ष जनशक्ति सहितको कक्षा सञ्चालनले गर्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।
उहाँका अनुसार कलेजले व्यवस्थापन संकाय तर्फ चितवन जिल्लामै पटक पटक उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको र अघिल्लो वर्षहरुमा समेत त्रिभुवन विश्वविद्यालयका विभिन्न सेमेष्टरको नतिजाहरुमा राष्ट्रिय स्तरमै दशौं स्थान र चितवन प्रथम समेत हुन सफल भएको छ । कलेजका प्रमुख भीष्मराज पाठकले व्यवस्थापन संकायका लागी कलेज उत्कृष्ट शैक्षिक गन्तब्य रहेको र दक्ष प्राध्यापकहरुको महत्वपुर्ण भूमिकाले गर्दा कलेजका सम्पुर्ण कार्यक्रमहरु बिएचएम, बिआईएम, बिबिएस, एमबिएस र कक्षा १२ मा समेत उत्कृष्ट नतिजा प्राप्त गरिरहेको बताउनुभयो ।
उहाँले कलेज सधैं विद्यार्थी केन्द्रीत गुणस्तरिय शिक्षामा समर्पित रहेको उल्लेख गर्दै नयाँ सत्रका लागि अहिले व्यवस्थापन संकाय अन्तर्गत बिबिएस प्रथम वर्षमा धमाधम भर्ना खुलेको र कक्षा सञ्चालन भईरहेको समेत जानकारी दिनुभयो । इन्टरनेशनल कलेजमा व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ देखी स्नातकोत्तर तह (एमबीएस) सम्म पुर्ण डिजिटल प्रणालीमा पढाई हुदै आइरहेको छ ।
























