चितवन विशेष

राप्ती नदीको १६ ठाउँमा एकैपटक सरसफाइ

Banner

भरतपुर,मंसिर १-

राप्ती नदीको १६ ठाउँमा एकैपटक सरसफाइ गरिएको छ । आज (सोमबार) नदीको मुहान मकवानपुरदेखि पुछार विन्दु चितवनको मेघौली गोलाघाटसम्म सरसफाइ गरिएको हो । राप्ती नदी दिवसको सन्दर्भ पारेर बृहत् सरसफाइ कार्यक्रम राखिएको राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले बताउनुभयो । उहाँका अनुसार राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले तीन वर्षदेखि मंसिर १ गते दिवस मनाउँदै आएको छ ।

अभियानको आह्वानमा मकवानपुरका तीन ठाउँ र चितवनका १३ ठाउँमा सरकारी, गैरसरकारी र स्थानीय निकायका समूह नदी सफाइमा जुटेको घिमिरेले जानकारी दिनुभयो । ‘हामी ११ वर्षदेखि अभियानमा छौं । तीन वर्ष पहिला नदी दिवस मनाउन सुरू गरेका हौं । यो अभियानमा हालसम्म स्वयमसेवी रूपमा २७ हजार जोडिए । हजारौं टन फोहर व्यवस्थापन गरेका छौं,’ संयोजक घिमिरेले भन्नुभयो । उहाँले नयाँ पुस्तालाई संरक्षणसंग जोड्न संरक्षण पाठशाला समेत सुरु गरिएको बताउनुभयो ।

राप्ती नदी चितवन निकुञ्ज आड हुँदै बग्छ । राप्तीमा दुर्लभ घडियाल गोही लगायतका जीवजनावर वस्छन् । हिउँदयाममा साइबेरियादेखि चरा आहारा खोज्दै यहाँसम्म आउँछन् । ‘यस्तो नदीलाई प्रदूषणमुक्त राख्न हामी सामाजिक अभियानमा लागेका छौं । यो आज मात्र नभएर निरन्तर चल्ने अभियान हो,’ घिमिरेले भन्नुभयो । तुलनात्मक रूपमा फोहर कम भए पनि प्लाष्टिक प्रशस्तै देखिने, स्थानीय तहले फोहोर मिल्काउने जस्ता समस्या हट्न नसकेको घिमिरेले गुनासो गर्नुभयो ।
बागमती प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्व वनमन्त्री कृष्ण सिलवालले नदी सभ्यताको संरक्षणको दायित्व सरकार समुदाय सबैले मिलेर पूरा गर्नुपर्ने बताउनुभयो । ‘पृथ्वीमा सबै बाँच्न पाउने अधिकार छ,तर उनिहरुको बाँच्ने अधिकार कुण्ठित हामी बिबेक भएका मान्छेले गरेका छौं,हाम्रा व्यवहारहरु परिवर्तन हुनुपर्छ,उहाँले भन्नुभयो ।’

डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले नदी जोगाए मानव जीवन पनि जोगिने धारणा राख्नुभयो । उहाँले सरसफाईको अभियानमा लागेका सबैलाई सम्मान र कामको कदर हुनुपर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विसुराम कुँवरले महानगरले नदी प्रदूषण नियन्त्रणलाई केन्द्रमा राखेको तर सबैको तत्परताबिना लक्ष्य हासिल नहुने बताउनुभयो । महानगर क्षेत्र सफाइका लागि कुचो अभियान सुरु गरिएको उहाँले बताउनुभयो । १ सय २० किलोमिटर लामो यस नदीमा मकवानपुरदेखि चितवनसम्म १५ वटा खोला मिसिएका छन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>