चितवन विशेष

कवि सूर्यवदना हमालको दोस्रो कविता सङ्ग्रह ‘स्मृतिका छालहरु’ सार्वजनिक 

Banner
मधुसूदन दवाडी 
चितवन, कात्तिक २०-
कवि तथा एमाले चितवनकी नेतृ सूर्यवदना हमालको दोस्रो कविता सङ्ग्रह ‘स्मृतिका छालहरु’ सार्वजनिक भएको छ ।
गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठाका उपकुलपति कवि गोविन्दराज विनोदी, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति ईन्द्र रेग्मी, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाइँ, अभिव्यञ्जना साहित्य प्रतिष्ठानकी अध्यक्ष चिराग भण्डारी, कवि मेनका चापागाइँले संयुक्तरुपमा आज एक कार्यक्रमबीच कविता सङ्ग्रहको लोकार्पण गरेका हुन् ।
कृतिको लोकार्पणपछि शुभकामना मन्तव्य राख्दै वरिष्ठ कवि तथा गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति विनोदीले कवि हमालको कविता राष्ट्रभक्तिले भरिपूर्ण रहेको बताए । उनले भने, ‘कृतिमा गीत, कविता सबै राम्रो छन् । राष्ट्रप्रतिको कर्तव्यबोध उहाँको कवितामा राम्रो छ ।’ उनले कवितामा अझ साधना गरेर अघि बढ्न कवि हमाललाई शुभकामना दिए ।
त्यस्तै, कवि हमालले कवितामा आफ्ना पीडाहरु अभिव्यक्त गरेको बताइन् । उनले देशको राजनीतिक परिवेशबारे पनि कवितामा उल्लेख गरेको बताइन् । उनले भनिन्, ‘ नेताहरुलाई सुध्रिनुपर्छ  भनेर कवितामार्फत् सन्देश दिन खोजेको छु ।’  कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले कृतिमा कवि हमालको नारी शक्ति झल्किएको बताए । उनले कवितामार्फत् सामाजिक विकृतिविरुद्ध आवाज उठाउन जरुरी भएको बताए ।
त्यस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले हमाल एक जिम्मेवार कवि रहेको बताए । उनको साहित्य लेखनलाई धेरै अगाडिदेखि चिन्दै आएको बताउँदै रेग्मीले कवि आगामी दिनमा कवितामार्फत् अझ अगाडि बढ्दै जान शुभकामना दिए ।
त्यसैगरी साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाइँले बाल्यकालमा विद्यालयदेखि कविता सुनाउने कवि सूर्यवदना हमाल कविता लेखनमा प्रेरणाको स्रोत भएको बताए । उनले भने, ‘ कवि हमाल राजनीतिक कार्यकर्ता भए पनि राजनीतिमा कुनै आग्रह पूर्वाग्रह छैन । खवरदारी गर्नुभएको छ । उहाँ सचेत कवि हुनुहुन्छ । ’
त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष परमेश्वर खनालले कवि हमालले राजनीतिज्ञले कसरी मुलुकलाई हाक्ने भन्ने सन्देश कवितामार्फत् दिएको विचार राखे ।
उनले भने, ‘सामाजिक विषयवस्तु र हकअधिकारका कुराहरुमा उहाँले कवितामार्फत् दिनुभएको सन्देश माथिल्लो स्तरको छ ।’ कवि मेनका चापागाइँले हमालको कवितामा राजनीतिक विकृति, विसंगति पन्छाएर परिवर्तनको पुकार गरिएको बताइन् । उनले सामाजमा रहेको अन्याय, अत्याचार, महिला हिंसा, जातीय विभेद, सन्तान विदेशिएपछिको अभिभावकको पीडा र राज्यप्रतिको असन्तुष्टिका विषयहरु रहेको बताइन् । कार्यक्रममा विष्णु तिवारी उषाले एउटा कविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा कवि हमालको छोरा प्रचण्ड हमालले स्वागत मन्तव्य राख्दै आमाले कविता लेखेर हामीलाई जीवनका अर्थहरु बुझ्न सिकाएको बताए । उनले भने, ‘आमाको कविता सङ्ग्रहका कवितामा भावनाहरु जन्म भएको छ । जीवन सिकाएको छ ।’ सम्पूर्ण किताब नारायणगढ र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसको सहयोगमा भएको कार्यक्रम अभिव्यन्जना साहित्य प्रतिष्ठानकी अध्यक्ष विद्या भण्डारी ‘चिराग’ को अध्यक्षतामा भएको थियो ।
विसं २०१२ चैत १९ गते लमजुङको मन्ज्याङमा जन्मिएकी कवि सूर्यवदना हमाल ‘कुसुम’ को यसअघि २०७९ मा ‘अनुभूतिका पाइलाहरु’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । कवि चितवनको सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहेकी छन् । अहिले भरतपुर महानगर वडा नम्बर १० को वडा सदस्य रहेकी उनी  २०६० सालमा एमाले चितवनको उपसचिव भएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>