चितवन विशेष

चितवनको कविडाँडा आख्यान पुरस्कार तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ लाई प्रदान

Banner

मधुसूदन दवाडी,

चितवन, कात्तिक १-

कविडाँडा आख्यान पुरस्कार–२०८१ तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ लाई प्रदान गरिएको छ ।

कविडाँडा साहित्य समाज चितवनले आज एक विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गरेको हो । यस वर्षबाट पुरस्कारको राशी एक लाख ५० हजार रुपैयाँ पु¥याइएको छ । पुरस्कार प्रदान गरेपछि शुभकामना मन्तव्य राख्दै साहित्यकार सरुभक्तले हिउँको गीत सर्वदा नविन उपन्यास भएकोले यो पुरस्कार पाउन सफल भएको बताए । उनले भने, ‘अहिले नेपाली उपन्यास क्षेत्र १२२ औं वर्षमा हिडिरहेको छ । अहिलेसम्म एक हजार बढी उपन्यास लेखिए होला । पोखराबाट कविको रुपमा उदाएका तीर्थ गुरुङको यो उपन्यास नविन शैलीको उपन्यास हो । उनको उर्जा कायमै रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

कार्यक्रममा कवि भूपेन्द्र खड्काले पुरस्कृत कृतिको स्रष्टा गुरुङको चिनारी प्रस्तुत गरे । उनले कास्कीको सुन्दर गाउँ सिकलेसमा जन्मिएका उपन्यासकार पाठशाला उपन्यासबाट बढी चर्चामा आएको बताए । त्यस्तै, कार्यक्रममा समालोचक डा. केशवराज चालिसेले सांस्कृतिक कथाको आडमा लेखिएको उपन्यास ‘हिउँको गीत’ भएको बताए । उनले भने, ‘आदिवासी गुरुङ जातिको संस्कार र संस्कृतिलाई कलात्मक ढंगबाट उपन्यासमा प्रस्तुत गरिएको छ । यो उपन्यासबाट गुरुङ जातिको ऐतिहासिक अध्ययन गर्न सकिन्छ । उपन्यासकार आफै समुदायभित्रका मानिस हुन् । अधिआख्यानको रुपमा ब्याख्या गर्न सकिने उपन्यासले मायावी यथार्थलाई प्रस्तुत गरेको छ ।

उपन्यासले सामान्य विषयलाई रहस्यमय बनाएको छ । उच्च कल्पनाशिलता उपन्यासमा प्रयोग गरिएको छ । मानिस चितुवा, भेडो बनेको जनावर फेरि मान्छे बनेको मिथ उपन्यासमा पढ्न पाइन्छ ।’ डा चालिसेले गैररेखिए मोडलबाट लेखिएको उपन्यासमा राजनीतिको सन्दर्भ पनि जोडिएको स्पष्ट पारे । उपन्यासमा धेरै पात्रहरु भएकोले गैरआदिवासीलाई पढ्न गाहे भएको पनि बताए । उनले पूर्खाको भनाइको आधारमा उपन्यास तयार भएको विचार राखे ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै समालोचक महेश पौड्यालले उपन्यासमा सेटिङ र पात्र महत्वपूर्ण हुने बताए । उनले भने, ‘ ऐतिहासिक घटनासँग उपन्यास आधारित रहेको छ । त्यसकै आधारमा पात्र र परिवेश उभिएको छ । हरेक ठाउँ र पात्रले घटना र परिवेश बुझाउँछ । पुरस्कृत कृति इतिहास र पहिचानसँग सम्बन्धित छ ।’ कार्यक्रममा पुरस्कृत उपन्यासकार तीर्थ गुरुङले स्वास्थ्य अवस्था प्रतिकुल हुँदाहुँदै पनि मेहनतका साथ तयार गरिएको उपन्यास पुरस्कृत हुदा खुसी लागेको बताए । उनले उपन्यासलाई योग्य ठानेर पुरस्कृत गरिदिएकोमा कविडाँडा साहित्य समाजलाई धन्यवाद पनि दिए ।

कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार जीवा लामिछानेले शुभकामना मन्तव्य र सामालोचक उदय अधिकारीले स्वागत मन्तब्य राखेका थिए । अधिकारीले बिगत २० वर्षदेखि कविडाँडा साहित्य समाजले चितवनमा बसेर साहित्य क्षेत्रमा राम्रो काम गरिरहेको बताए । कार्यक्रममा समाजका अध्यक्ष एलबी क्षेत्रीले यस वर्षबाट उपन्यासको राशी एक लाख ५० हजार रुपैयाँ बनाइएको र अर्काै एक लाख ५० हजार रुपैयाँको कविडाँडा प्रतिभा पुरस्कार हरेक वर्ष प्रदान गरिने घोषणा गरे । कार्यक्रममा गायक आयुष केसीले राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।

यस पुरस्कारका लागि पहिलो विस्तारित सूचिमा १० कृतिहरू शैलेन्द्र अधिकारीको अर्हत् (उपन्यास), छुदेन काविमोको उरमाल (उपन्यास), रमेश क्षितिजको एउटा मायी नगरमा (कथासङ्ग्रह), जयराम तिमल्सिनाको धीमहि (उपन्यास), पंचम अधिकारीको प्रवासीको देश हुन्न (कथासङ्ग्रह), टंक चौलागाईंको रूदाने (उपन्यास), श्रीधर खनालको सावर्णि (उपन्यास) बसन्त बस्नेतको सिमसारा (उपन्यास), सरस्वती प्रतिक्षाको स्व (उपन्यास), र तीर्थ गुरुङको हिउँको गीत (उपन्यास) छनौट भएका थिए ।

त्यस्तै दोस्रो संक्षिप्त सूचिमा छुदेन काविमोको उरमाल (उपन्यास) ,पञ्चम अधिकारी प्रवासीको देश हुन्न (कथासङ्ग्रह) ,तीर्थ गुरुङको हिउँको गीत (उपन्यास), सरस्वती प्रतीक्षाको स्व (उपन्यास) र श्रीधर खनालको सावर्णि (उपन्यास) रहेका थिए । त्यसमध्ये गुरुङको ‘हिउँको गीत’ लाई उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष क्षेत्रीले बताए । उनले आफूहरुले पुरस्कारको लागि लेखकसँग कृति नमागी बजारमा आएका मध्ये उत्कृष्ट छनोट गर्ने गरेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>