समाचार
नेपालले गर्यो विपीन जोशीको रिहाइको माग

काठमाडौं, असोव २३-
नेपालले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइको माग गर्दै इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सम्झौताको स्वागत गरेको हो ।
“अमेरिकाका राष्ट्रपतिले प्रस्ताव गरेको ‘मध्यपूर्व शान्ति योजना’ को पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबीच भएको सम्झौताको नेपालले स्वागत गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “हामी ७ अक्टोबर २०२३ देखि हमासले बन्धक बनाएका नेपाली नागरिक विपीन जोशीलगायत सबै बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान गर्दछौँ ।”
नेपालले सम्बन्धित सबै पक्षहरूलाई योजनालाई यसको वास्तविक भावनामा कार्यान्वयन गर्न, गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न र दिगो शान्तिको मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
नेपालले यो बहुप्रतिक्षित सम्झौता गराउन महत्त्वपूर्ण भूमिका खेलेकोमा अमेरिका, कतार, इजिप्ट र टर्कीको प्रशंसा गरेको छ ।

























