समाचार
विश्वविजेता वेस्ट इन्डिजको सामना गर्न नेपाली टोली मैदानमा

काठमाडौं, असोज ११-
नेपाली क्रिकेटले आज एक ऐतिहासिक अध्याय कोर्दैछ। टि २० क्रिकेटको दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्धको पहिलो ऐतिहासिक खेलका लागि दुवै टोली मैदानमा प्रवेश गरिसकेका छन् र अन्तिम तयारीमा जुटेका छन्।
नेपाली समयअनुसार खेल बेलुका सवा ८ बजे सुरु हुँदैछ। ‘युनिटी कप’ नाम दिइएको यो तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला नेपाली क्रिकेटका लागि एक सुनौलो अवसर हो। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली र अकिल होसेनको कप्तानीमा रहेको वेस्ट इन्डिजको टोली मैदानमा ‘वार्म(अप’ गरिरहँदा विश्वभरका नेपाली क्रिकेट समर्थकहरूको उत्साह र प्रतीक्षाको घडी उत्कर्षमा पुगेको छ।
नेपालले पहिलो पटक विश्व क्रिकेटको पावरहाउस मानिने वेस्ट इन्डिजजस्तो टेस्ट राष्ट्रसँग खेल्न लागेको हो। अनुभवी खेलाडीहरू सन्दीप लामिछाने, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडीले भरिएको नेपाली टोली विश्वविजेतालाई कडा टक्कर दिने आत्मविश्वासका साथ मैदानमा उत्रनेछ।

























