समाचार
‘नेपोबेबी ट्रेन्डबारे श्रृंखलाः आफ्नै कमाइले हार्वर्ड पढेकी हुँ

काठमाडौं, असोज २-
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले ‘नेपो-बेबी ट्रेन्ड’ र इन्स्टाग्राममा चलेको ‘अनफलो अभियान’बारे सामाजिक सञ्जालमा खुलेर धारणा राखेकी छन् । दुईवटा लामा इन्स्टाग्राम भिडियोमार्फत उनले आफूमाथि लागेको आरोपको खण्डन प्रयास गरेकी छन् ।
भ्रष्टाचारविरोधी जेनजीले उठाएको आवाज मान्य रहेको बताउँदै श्रृंखलाले मिस नेपाल हुनुपूर्व आफ्नो जीवनमा कुनै विलासी क्षण नरहेको बताएकी छन् ।
‘करप्सनविरुद्ध जनताको आवाज मान्य हो । संयोगवश म त्यो भिडियोको प्रमुख पात्र बन्न पुगेँ’ नेपो–बेबी ट्रेन्डबारे उनले भनेकी छन्, ‘मिस नेपाल हुनुपूर्व मेरो जीवनमा कुनै किसिमको लक्जरी थिएन । सिम्पल लाइफ बाँचिरहेकै केटी थिएँ म ।’
उनले आफ्नो अध्ययन, खानपान र गतिविधिका सबै भिडियो र फोटो इन्स्टाग्राममा खुला रहेको बताएकी छन् । ‘मैले पढेका स्कुलहरु, लवाइ खुवाइ सबै अहिले पनि इन्स्टाग्राममा ओपन छ । कुनै पनि हिसाबको विशेषाधिकार सोच ममा थियो भन्ने लाग्दैन’ उनले भनिन् । मिस नेपाल भएपछि मात्र आफूले संसार घुमेको र संसार बुझ्ने मौका पाएको उनले बताएकी छन् ।
उनले आफूहरूको घर रहेको र भाडा तिर्ने चिन्ता नरहेको खुलाएकी छन् । ‘म के स्वीकार्छु भने, हामीसँग एउटा घर थियो । भाडा तिर्नुपर्छ भन्ने चिन्ता कहिल्यै भएन, न हेटौडामा न काठमाडौंमा । बाबआमाले पुख्र्यौली सम्पत्ति बेचेर भएपछि दाई र मलाई उत्कृष्ट शिक्षा दिनुभयो ।’
श्रृंखलाले सार्वजनिक गरेको आयब्यय र सम्झौताको कागजपत्रको गुगलड्राइभ लिंक उनले जनताले तिरेको करको पैसाबाट होइन, आफूले नै कमाएको पैसाले हार्वर्डमा अध्ययन गरेको र डिग्री लिएको बताएकी छन् । हार्वर्ड अध्ययनमा मात्र ९६ लाख रुपैयाँ आफूले आफ्नै कमाइबाट तिरेको उनले बताएकी छन् ।

























