समाचार
फेसबुक बन्द गर्ने सरकारको निर्णयपछि मेटाले गर्यो सम्पर्क, मन्त्रालयले पठायो दर्ता गर्न चाहिने कागजको सूची

काठमाडौं,भदौ १९-
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि फेसबुकको माउ कम्पनी मेटाले अनौपचारिक च्यानलमार्फत् मन्त्रालयसँग कुराकानी अघि बढाएको छ । मन्त्रालय स्रोतका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयका एक कर्मचारीलाई नेपालमा दर्ता गर्न केके चाहिन्छ भनेर सोधेका थिए । उनले मेटा नेपालमा रहन इच्छुक रहेको भन्दै दर्ता प्रक्रियामा आउने बताएपछि सञ्चार मन्त्रालयका प्रतिनिधिले औपचारिक च्यानलमार्फत् आउन आग्रह गरेका छन् ।
‘तत्कालका लागि मेटालाई दर्ताका लागि चाहिने कागजहरूको सूची पठाउनुपर्यो भनेपछि मन्त्रालयले इमेल गरेको छ’, स्रोतले भन्यो । अनौपचारिक रूपमा कुराकानीको थालनी भए पनि मेटाले औपचारिक रेस्पोन्स भने गरेको छैन । एक साताअघि मन्त्रिपरिषद् बैठकले नेपालमा एक हप्ताभित्र सामाजिक सञ्जाल दर्ता गर्ने अल्टिमेटम दिएको थियो ।

























