देश/प्रदेश

बगैँचाखेतीमा किसानको आकर्षण बढ्दो

Banner

महोत्तरी, साउन ३०-

पछिल्ला केही वर्षयता महोत्तरीका किसानमा बगैँचा फलफूल खेतीतिर आकर्षण बढ्दैछ । अन्नबाली, तरकारी र उखुसहितका अन्यबाली लगाउन भरपर्दो सिँचाइ एवं बीउ, मल समयमा नपाइएपछि किसानको बगैँचाखेतीमा आकर्षण बढेको हो ।

जिल्लामा बगैँचाखेतीमा मुख्य रुपले आँप लगाइन्छ । लिची, रुखकटहर, सपातो र केरासहितका फलफूल लगाइए पनि बगैँचाखेतीमा आँपतिर नै किसानको आकर्षण देखिएको छ । सामान्य सिँचाइमा गर्न सकिने, एकपटक लगाएपछि कमसेकम एक दशकसम्म हुने र बर्सेनि सामान्य गोडमेल गरेर बोट घेरबार गर्नसके आँप सजिलै हुर्कने किसान बताउँछन् । यसपालि लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ का ६० वर्षीय किसान गङ्गाराम महतोले अब आँप रोप्ने तयारी गरेको बताउनुभयो ।

“यसपाली खडेरीले कस्तो पाठ सिकायो, मैले अब आँपखेती बढाउने तयारी गरे”, महतोले भन्नुभयो, “करिब १० कट्ठा जग्गामा आँप रोप्न खनेको खाल्डोमा कम्पोष्ट मल राखिसके, अब भदौ पहिलो साताभित्रै रोपिसक्छु ।” बिरुवा रोपिएको दुई वर्षभित्रै उत्पादन दिन थाल्ने हुँदा एक वर्षमात्र खेप्नुपर्ने उहाँको भनाइ छ ।

कृषिको जनशक्ति विदेशिएको, मौसमको प्रतिकूलता र अन्नखेती लगाउन खर्च बढ्दै गरेको किसानको भनाइ छ । आँप लगाउँदा रोप्ने बेलामा लाग्ने जनशक्तिको खर्च अन्य बालीभन्दा निकै कम हुने बर्दिवास–५ चेरुका राजन पौडेल बताउनुहुन्छ । आफूले दुई बिघाभन्दा बढीमा आँपखेती लगाएको पौडेलको भनाइ छ ।

“मैले लगाएका आँपले उत्पादन दिन थालेको नै दुई वर्ष भइसक्यो, बर्सेनि रु दुई लाख ठेक्कामा व्यापारीले लाने गरेका छन्”, पौडेलले भन्नुभयो, “फुल्ने बेलामै ठेक्का भएपछि बगैँचाको स्याहार पनि ठेक्का लिने व्यापारीले नै गर्छन् ।” आफूले यसपाली पनि एक बिघामा आँपखेती बढाउन लागेको उहाँले बताउनुभयो ।

आँपका लागि यहाँको माटो र हावापानी अनुकूल भएको तथा खेती कम खर्चिलो भएपछि बगैँचा लगाउने किसान बढ्दैछन् । पाँच वर्षअघिसम्म तीन हजार हेक्टरभन्दा तल रहेको बगैँचाखेती अहिले करिब पाँच हजार हेक्टर पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिला वर्षमा रोपेको वर्षदिनमै उत्पादन दिने नयाँ विकसित जातका आँप लगाउने किसान बढेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ ।

यिनमा स्वर्णरेखा, मल्लिका र आम्रपालीसहित छन् । यी जातका रुख धेरै अग्ला नहुने, थोरै क्षेत्रफलभित्र पनि रोप्न सकिने, बर्सेनि फल्ने र सुगन्धितसँगै मीठो स्वादका हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेका महतोको अनुभव छ । यीबाहेक पुराना जातका मालदह, ग्रिन बम्बई, सिपिया, गोपालभोग, लालगुलाब, एलो बम्बई, दसहरी, कृष्णभोग र कलकतिया जातका आँपखेतीका लागि किसानको रोजाइमा पर्ने गरेका छन् ।

बगैँचाखेतीका लागि सरकारले बिरुवा र अन्य प्राविधिक सहयोगमा समन्वय गरिदिनुपर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्रले किसानले समन्वय गर्दा सहुलियतपूर्ण बिरुवा उपलब्धता र फलफूल विज्ञको प्राविधिक सलाह पाउने व्यवस्था गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादव बताउनुहुन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>