चितवन विशेष
नारायणगढ जेसीजद्धारा नाफल–४.० तालिम सुरु

चितवन, साउन ३०–
युवाहरुको सामाजिक संस्था नारायणगढ जेसीजले चौथो संस्करणको नाफल–४.० (नारायणगढ एकेडमी फर एचिभर्स एण्ड लिडर्स)को तालिम सुरू गरेको छ ।
बिहीबार भरतपुर–२९ भतेरीमा सुरु भएको तालिमको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले समुद्घाटन गरे । सो क्रममा बोल्दै उनले जेसीजले युवावर्गलाई देशमै केही गर्नुपर्छ भन्दै उद्यमतर्फ आकर्षण गर्ने किसिमको कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्त गरे ।
नारायणगढ जेसीजले दिगो विकासका लागि युवा नेतृत्व भन्ने प्रकरणअन्तर्गत नाफल ४ को कार्यक्रम गरिएको नारायणगढ जेसीजका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए । यो तालिम तीन दिनसम्म चल्नेछ । नारायणगढ जेसीजले ५०औँ वर्ष प्रवेश गरेको अवसरमा स्वर्णजयन्ती मनाइरहेको र त्यहीअन्तर्गत नाफल–४.० को कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा देशभरका १८ देखि ४० वर्षसम्म उमेरका ४० जना सहभागी रहेका छन् ।
समुद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरी, नारायणगढ जेसीजका स्वर्णजयन्तीका संयोजक सुदीपसिंह अधिकारी, उवासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको प्रमुख प्रशिक्षकमा डा. सन्देशदास श्रेष्ठ रहेका छन् ।
























