कृषि

वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक केराखेतीमा

Banner

कञ्चनपुर, साउन २७ –

वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना नौ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । वार्षिक रुपमा उहाँले रु १५ लाखदेखि २० लाखसम्मको बारीमा उत्पादित केरा बिक्री गरी आम्दानी लिँदै आउनुभएको छ ।

दुई बिघा भाडामा र एक बिघा स्वामित्वको गरी तीन बिघा जग्गामा रानाले केराखेती गर्नुभएको छ । केरा बारीमा जि नौ जातको बढी उत्पादन दिने केरा रोपिएको छ । गत वर्ष रानाले रु १८ लाखको केरा बिक्री गर्नुभएको थियो । केराखेतीका लागि यस वर्ष प्रतिकूल मौसम भएकाले उत्पादन गत वर्षको भन्दा बढी हुनेमा राना ढुक्क हुनुहुन्छ । बारीमा उत्पादित केरा दसैँ–तिहारमा बिक्री गर्ने योजना रानाको रहेको छ । “दशैँ–तिहारका बेला केराको माग उच्च हुन्छ”, उहाँले भन्नुभयो, “मूल्य पनि सोचेअनुसार नै पाइन्छ, त्यै भएर यसै समयमा केरा बिक्रीका लागि तयार गर्दै आएका छौँ ।”

व्यापारीले गाडी लिएर बारीमै पुगेर हातो हात पैसा दिएर केरा खरिद गरेर लैजाने गरेको रानाले बताउनुभयो । थोकमा केराको प्रतिघडी रु ५०० देखि रु ६०० मा बिक्री हुने गरेको छ । प्रतिघडीमा १० देखि १५ दर्जन बढी केरा उत्पादन हुने गरेको छ । केराखेतीका लागि रासायनिक मल, बिषादी, सिँचाइ र कामदारको ज्याला गरी रु चार लाख जतिको खर्च आउने गरेको छ ।

बारीमा रोपिएका केराको गोडमेललगायतको कार्यका लागि मौसमी रुपमा १० देखि १२ जना कामदारलाई उहाँले रोजगारी पनि दिँदै आउनुभएको छ । “घरमा रोजगारी उपलब्ध नभएपछि केही वर्ष भारतमा काम गरे”, उहाँले भन्नुभयो, “त्यसपछि तीन वर्ष मलेसियामा बसेर काम गरे, विदेशमा काम गरेर घर खर्च मात्रै चल्थ्यो, बचत गर्न सकिँदैन्थ्यो, त्यै भएर घर फर्केर सुरुमा चार कट्ठा जग्गामा परीक्षणका रुपमा केराखेती गरे ।”

त्यसले राम्रो उत्पादन दिएपछि खेतीलाई व्यावसायिक बनाउन हौसिएको उहाँ बताउनुहुन्छ । जग्गाको क्षेत्रफल बढाउँदै लगेर आम्दानी बढ्दै गएको छ । अहिले खर्च कटाएर वर्षमा रु १० लाख जति रकम बचत हुने गरेको उहाँले बताउनुभयो । कहिलेकाहीँ हावाहुरी, जङ्गली हात्तीले केराखेतीमा क्षति पुर्याउने बाहेक अन्य नोक्सान भने अरू बाली जस्तो नहुने गरेको उहाँ बताउनुहुन्छ ।

श्रीमान् श्रीमती दुवै जना दिनको आठ घण्टाभन्दा बढी समय केराको स्याहारसुसारमै बिताउने गरेको उहाँको भनाइ छ । शुक्लाफाँटा–१२ का वडाध्यक्ष नवलसिंह रानाले मोहनलाई नगरपालिका क्षेत्रमा व्यावसायिक केराखेती गर्ने अब्बल किसानका रूपमा रहेको बताउनुभयो । “मोहनले न केवल आफ्नो परिवारलाई आत्मनिर्भर बनाएका छन्”, उहाँले भन्नुभयो, “गाउँका अन्य युवालाई पनि प्रेरणा दिएका छन् ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>