समाचार

राससको वार्षिक समीक्षा बैठक

Banner

काठमाडौँ, साउन २३ –

राष्ट्रिय समाचार समिति (रासस) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गरेको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा कर्मचारी बैठक’ मा राससको वार्षिक प्रगति विवरण र आगामी रणनीतिबारे समीक्षा गरियो ।

राससले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आवमा १३ दशमलव ६१ प्रतिशतले आन्तरिक आम्दानी वृद्धि गरेको छ । अघिल्लो आवमा रु तीन करोड ८३ लाख आम्दानी गरेको राससले गत आवमा रु चार करोड ४१ लाख आम्दानी गर्न सफल भएको छ ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय आम सञ्चारमाध्यमका बीचमा सेवा प्रवाहमा रासस बिस्तारै ‘भाइव्रेन्ट’ बन्दै गएको बताउनुभयो । उहाँले समीक्षा बैठकमा आएका सुझावलाई रासस व्यवस्थापनले तालुक मन्त्रालयसँगको समन्वयमा क्रमशः कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यकारी अध्यक्ष झाले राससको सेवालाई सामाजिक सञ्जाल पडकास्ट, युट्युबमा लैजानुपर्ने अपरिहार्य भएकाले सोको नीति बनाउन कोसिस भइरहेको तथा रासस युट्युब र पोडकास्टमा जाने पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको बताउनुभयो ।

राससका सञ्चालक समिति सदस्यसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रवीन्द्रप्रसाद पौड्यालले राससको सेवालाई चुस्त र प्रभावकारी बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो भेटमा राससमा सम्भावना, चुनौती र आगामी कार्यक्रमबारे थाहा पाउने अवसर प्राप्त भयो । सरकार र संस्थाको बृहत्तर हितका लागि मेरोतर्फबाट सकारात्मक भूमिका निर्वाह गर्दछु ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखाका प्रमुख निर्मला थापाले संस्थागत सुधारका लागि सङ्गठन व्यवस्थापन संरचना ९ओएनएम० बनाएर समय, प्रविधि र आवश्यकताअनुसार राससलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा राससका नायब महाप्रबन्धक सोमनाथ लामिछानेले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभयो । राससका प्रधान सम्पादक उत्तम सिल्वाल र प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले सीमित स्रोतसाधन र जनशक्तिबीच राससको समाचार सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन निरन्तर प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले मिडियामा ‘एआई’को प्रयोग, डिजिटल मिडिया आदिबारे राससले आफूलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिनुभयो ।

रासस कर्मचारी सङ्घका अध्यक्ष पवित्रा गुरागाईंले राससमा लैङ्गिक समानताका लागि ‘जेन्डर अडिट’ हुनुपर्ने धारणा राख्नुभयो । रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले रासस ऐन र विनियम चाँडो ल्याएर कर्मचारीको वृत्ति विकासको काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस शाखाका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले राससको विनियम चाँडो ल्याएर कर्मचारीको वृत्ति विकासको कामलाई निरन्तरता दिनुपर्ने, व्यवस्थापन र कर्मचारीबीचको प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।

राससलाई विश्वका अन्य प्रतिष्ठित मुलुकका आधिकारिक समाचार एजेन्सी सरह स्थापित र गुणस्तरीय बनाउन पर्याप्त काम गर्नुपर्ने चुनौती रहेको छ । रासस ऐनको निर्माण गर्न मस्यौदा मन्त्रालयमा पेस भइसकेको तथा रासस विनियमावली, ९नवौँ संशोधन, २०७९० मस्यौदा संशोधनका लागि मन्त्रालयमा छलफल भइरहेको जनाइएको छ । साथै राससमा तस्बिर, अडियो, श्रव्यदृश्य, मातृभाषा, सेवा सञ्चालन भए पनि पुरानै दरबन्दी कायम भएकाले समयअनुसार ‘ओएनएम’ गरी आवश्यक जनशक्तिको व्यवस्था गर्न आवश्यक रहेको राससको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

रासस राज्यका महत्वपूर्ण सूचना प्रवाहमा भरपर्दो र आधिकारिक संयन्त्र, देशका समाचार संस्थाहरुका लागि समाचारको मेरुदण्ड भएकाले राससको ऐन, नियम समसामयिक बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ । राससमा कर्मचारीको दरबन्दी संरचनाको ओएनएम गर्नुपर्ने, रासस सेवाफोटो, अडियो र भिडियो सञ्चालनमा प्रविधि तथा दक्ष जनशक्तिको अभाव, सामाचार सामग्री सम्प्रेषणमा समाचारको गुणस्तरीयता अभिवृद्धि गर्न स्रोत र साधनको अभाव, मर्मतसम्भार र संरक्षण, राससको स्वामित्वमा रहेका पोखरा, वीरगञ्ज र काँकडभिट्टामा भौतिक सम्पत्तिको व्यावसायिक उपयोगमा ल्याउनुपर्ने, राससका समाचार सामग्रीको अनधिकृत प्रयोग बढेको तर प्रतिलिपि अधिकारबमोजिम कारबाही गर्न नसकिएको लगायत विषय उठाइएका थिए ।

आर्थिक वर्ष २०८१/८२ मा राससबाट नेपाली समाचार ३२ हजार २०२ सम्प्रेषित भएका छन् । नेपाली लेख एक हजार १३९, नेपाल भाषाका समाचार तीन हजार ७३९, मैथिली भाषाका समाचार तीन हजार १२३ तथा अवधि भाषाका समाचार तीन हजार ७०६ सम्प्रेषित भएका छन् । यस्तै, अङ्ग्रेजीमा १० हजार ४७५, अन्तरराष्ट्रिय समाचार नेपालीमा अनुवाद पाँच हजार ५९१, अन्तरराष्ट्रिय समाचार अङ्ग्रेजी १८ हजार ९३७, राष्ट्रिय तस्बिर २७ हजार ८१८, अन्तरराष्ट्रिय तस्बिर ८१ हजार ९३५, अडियो एक हजार ३११ र श्रव्यदृश्य क्लिप नौ हजार १२१ सम्प्रेणण भएका सो अवसरमा जानकारी दिइयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>