समाचार
कन्डममा कोकिन राखेर ब्रा भित्र लुकाएर तस्करी, भुटान जान लागेकी महिला पक्राउ

काठमाडौं, साउन २३-
लागुऔषधका कारोबारीले विभिन्न तरिका अपनाएर तस्करीलाई पूर्णता दिँदै आइरहेका छन् । नेपाल प्रहरीले थाहा पाएसम्म सूक्ष्म निगरानीपश्चात भरियालाई पक्राउ गर्दै आएको छ । यसैक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक ब्राजिलियन महिला पक्राउ परेकी छिन् । २१ वर्षीया एमिली मिकाइल सान्तोष फेरेइराले ब्राजिलबाट एक किलो ९५० ग्राम कोकिन ल्याएकी थिइन् । कारोबारीले यसअघि भन्दा फरक तरिका अपनाएर फेरेइरालाई कोकिन बोकाएर पठाएका थिए ।
१० वटा कन्डम भित्र कोकिनलाई तरल पदार्थ बनाएर फेरेइराले आफूले लगाएको ब्रा भित्र लुकाएर ल्याएकी थिइन् । बुधबार राति साढे ९ बजे विमानस्थल उत्रिएकी उनी सोही राति नै डेढ बजे भुटान जाने तयारीमा थिइन् । ‘फेरेइराको गतिविधि शङ्कास्पद लागेपछि हामीले सोधीखोजी गर्यौं,’ नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले भने, ‘वाक थ्रु गेटमा पुन जाँच गर्दा उनको शरीरमा शङ्कास्पद वस्तु देखियो, खानतलासी गर्दा कन्डम भित्र लुकाएर ल्याएको तरल पदार्थ भेटियो ।’
उक्त तरल पदार्थलाई ल्याबमा राखेर जाँच गर्दा कोकिन रहेको पुष्टि भएको थियो । एसएसपी कोइरालाका अनुसार फेरेइरा पहिलो पटक नेपाल आएकी हुन् । उनी धेरै बोल्न मानेकी छैनन् । प्रारम्भिक अनुसन्धानमा उनी भरिया मात्रै हुन् कि भन्ने आशंका प्रहरीको छ । कारोबारीले नेपालको विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यसअघि पटकपटक लागुऔषध ल्याएका घटना छन् । तर, फेरेइराले नौलो तरिका अपनाएकी हुन् ।
संवेदनशील अंगमा प्रहरीको ध्यान कम पुग्ने मनसायले कारोबारीले ब्रामा कन्डम लुकाएर ल्याएर फेरेइरालाई पठाएको दाबी ब्यूरोको छ ।

























