समाचार
भारत लगेर युवकको मिर्गौला तस्करी गर्ने ३ जना पक्राउ

काठमाडौं,साउन २२-
काठमाडौँबाट एक जना युवकलाई भारत लगेर मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मिर्गौला तस्करीमा संलग्न मुख्य योजनाकार काभ्रेको पाँचखाल घर भएका ३५ वर्षीय राज कुमार परियार उर्फ कुमार सहित तीन जनालाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा कुमार सहित नुवाकोटका बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र बेलकोटगढी–४ घर भएका ४७ वर्षीय राकेश नेपाली छन् । बिहीबार कुमारलाई काभ्रेको साँगाबाट र अरू दुई जनालाई ब्युरोको टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।
आरोपीहरूले सिन्धुलीको दुधौली नगरपालिका–१ घर भएका खिल बहादुर भुजेललाई ‘दिल्लीमा जागिर मिलाइदिन्छौँ’ भनेर चण्डीगढ लगेर उनको मिर्गौला निकालेका हुन् । ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका भुजेललाई १ महिनाअघि आरोपीहरूले थानकोटबाट भैरहवा स्थित सुनौली बोर्डर पार गराएर चण्डीगढ लगेर अपार्टमेन्टमा राखेको अनुसन्धानबाट थाहा भएको छ । त्यहाँ आर्थिक प्रलोभन देखाएर आरोपीहरूले निजी क्लिनिकमा मिर्गौला निकालेका हुन् । मिर्गौला निकाल्दा ‘६ लाख आउँछ’ भनेर उनीहरूले रकम दिएको भिडियो समेत बनाएको भेटिएको छ । साउन ९ मा बायाँ मिर्गौला निकालेपछि आरोपीहरूले भुजेललाई काठमाडौँ ल्याए । भुजेलसँगै ५ जनाको मिर्गौला सो समूहले तस्करी गरेको ब्युरोका अधिकृतहरू बताउँछन् ।

























